नेपालको तराइमा गत शुक्रबारदेखि सलह किराको आतंक फैलिएको छ । बारा, पर्सा, सिन्धुली, तनहुँ र रुपन्देहीमा सलह किरा प्रवेश गरेर हरियो नगदेबाली नष्ट गर्न थालेपछि त्यहाँका कृषक तनावमा छन् ।
सलह नेपालमा प्रवेश गरेसँग कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सम्बन्धीत क्षेत्रमा विभागीय कर्मचारी खटाएर नियन्त्रण प्रसास थालेको जनाएको छ ।
सलह नेपालमा प्रवेश गरेसँगै औषधि र रोकथामका लागि काम र अनुसन्धान भइरहेको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले शुक्रबारदेखि नै सलह किरा नियन्त्रणका लागि कृषि अनुसन्धान र कृषि वैज्ञानिकको टोली सम्बन्धित जिल्लामा खटाएर काम सुरु गरिएको छ ।
अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतमा बालीनाली नोक्सानी पुर्याउन थालेको सलह किरा रोकथामका उपायका बारेमा कृषि मन्त्रालयले अध्ययन गरिरहेकको मन्त्रालयका प्रवक्ता डा. केसीको बताए ।
‘सलह किरा नेपालमा प्रवेश गरेसँगै मन्त्रालयले कृषिमा नोक्सानी नहोस् भनेर काम सुरु गरेको छ । सलह नियन्त्रणका लागि शानिबारदेखि मन्त्रालयले कृषि अनुसन्धान केन्द्र र कृषि ज्ञान केन्द्रका कर्मचारीलाई सम्बन्धीत क्षेत्रमा खटाएको छ,’ उनले भने, ‘अहिले मकै, तरकारी, धानको बीउ लगायतलाई क्षति गर्न सक्छ । प्रदेश र स्थानीय तहसँग समन्वय गरेर यो किरालाई नियन्त्रण गर्ने काम भइरहेको छ ।’
सलह एकै पटक धेरै स्थानमा प्रवेश गरेका कारण विषादीको व्यवस्थापन गरी किरा भएको ठाउँमा छर्किने समस्या भइरहेको उनको भनाइ छ ।
नेपालमा सलह किराको असर र प्रभाव कति समयसम्म पर्छ ? कुन रुटबाट आयो ? कस्तो जातको कीरा हो ? बालीलाई कसरी नोक्सानी गर्छ ? जस्ता विषयमा अध्ययन भइरहेको प्रवक्ता डा. केसीले जानकारी दिए । सलह किरा मार्ने औषधि एकीन नभएका कारण समस्या भइरहेको उनको भनाइ छ ।
विगतमा अफ्रिकी मुलुकहरू केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, डिबोटी, इथियोपिया, इरान र पाकिस्तान हुँदै भारतसम्म सलह किराको प्रकोप फैलिएको छ ।
समितिको गलत सूचना
सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गत वैशाखमा नै गठन गरेको थियो । उक्त समितिले तत्काल नेपालमा सलह किरा प्रवेश गर्ने सम्भावना न्यून रहेको भन्दै कृषि मन्त्रालयलाई एउटा कार्यविधि बुझाएको थियो । जसका कारण सलह किरा नियन्त्रणका लागि मन्त्रालयले ध्यान दिएर काम गरेको थिएन ।
समितिको गलत सूचनाका कारण नेपालमा सलह किराको प्रकोप फैलिएको कृषि मन्त्रालयको बुझाइ छ । यो विषयमा मन्त्रालयले आइबारदेखि नै अध्ययन थाल्ने भएको छ ।
मन्त्रालयले उक्त किराबाट नेपालमा हुन सक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेपनि समितिले कुनै पनि काम नगरेको कृषिविज्ञको आरोप छ ।
भारतमा सलह किराको प्रकोप फैलिएसँगै नेपालमा भित्रिने जोखिमलाई मध्यनजर गर्दै कृषि मन्त्रालयले रोकथाकका लागि प्रयास सुरु गरेको जनाएको थियो । तर, तराइका जिल्लामा सलहको प्रकोप शुक्रबारदेखि नै फैलिए पनि कृषि मन्त्रालयले नियन्त्रणका लागि प्रयास नगरेको प्रष्ट देखिएको कृषिविज्ञ केपी पौडेलेको आरोप छ ।
सलह किराले नगदेबालीमा धेरै नोक्सानी पुर्याउने गरेको उनको भनाई छ । ‘भारतका धेरै स्थानमा सलहले हरियो तरकारीसँग अन्य खेतीमा नोक्सानी पुर्याएको छ । छिमेकी देशमा सलहको प्रकोप हुँदा पनि नेपाल सरकारले भने किरा नियन्त्रणका लागि वेवास्ता गर्दै बस्यो,’ कृषिविज्ञ पौडेलले भने, ‘सलहका किरा रोक्न सक्ने समय छ । सरकारले तत्काल किरा नियन्त्रण गर्न ध्यान नदिए कृषिमा ठूलो नोक्सानी हुन्छ । किसान धेरै मारमा पर्छन् ।’
भारतको तुलनामा नेपालमा सलह किरा छिटो प्रवेश गरेको छ । नेपालमा एकै दिनमा धेरै स्थानमा देखा परेको पौडलले बताए । गहुँ, तोरी, कपास, मकै, मेवा, तरकारीका परिकार, फलफूलसँगै नगदेबालीमा सलह किराले नोक्सानीे पुर्याएको उनको भनाइ छ ।
संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांकअनुसार साधारणतः सलह किराले प्रतिदिन २ ग्रामसम्म खान सक्छ । १ किलोमिटरको हुलमा हुने सलहको करिब ४ देखि ८ करोड संख्याले एकै दिनमा ३५ हजार जनालाई पुग्ने खाना नष्ट गर्न सक्ने कृषिविज्ञको भनाई छ ।
सलह हुलमा दौडिने एक प्रकार फट्याङ्ग्रा कीरा भएको र यो किरा बालीनालीका लागि निकै हानिकारक हुने राष्ट्र संघले जनाएको थियो ।
सलहले एक सयदेखि १ सय ३० किलोमिटरसम्म समूह बनाएर हिँड्छन् । यो किराले हरियो र कलिलो बालीनालीलाई लार्भा र चिप्ले किरा जस्तो टाँसिएर खान्छ ।
एकै दिन ५ जिल्लामा सलहको संक्रमण, संकलन गर्नेलाई पैसा
कृषि मन्त्रालयले बारा, तनहुँ, पर्सा, सिन्धुली र रुपन्देहीमा सलह किरा पहिलो पटक देखा परेको जनाएको छ । यी तिनै जिल्लामा एकै दिन सलह किरा देखिएको मन्त्रालयले शानिबार पुष्टि गरेको हो ।
भारतको सीमा क्षेत्र हुँदै रुपन्देही, पर्सा, बारा र सिन्धुलीमा सलह किरा प्रवेश गरेको मन्त्रालयले जनाएको छ ।
प्रदेश ५ सरकारले सलह किरा सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ । प्रोत्साहन स्वरुप किरा सङ्कलन गर्नेलाई रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश ५ को कृषि विकास निर्देशनालयले जनाएको छ ।
सङ्कलन गरिएको सलह किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत् प्रोत्साहन स्वरुप अनुदान रकम कृषकले पाउने समेत निर्देशनालयले जानकारी दिएको छ । शिलापत्र