इटहरी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विद्यार्थी संगठन नेविसंघ नेतृत्त्वप्रति आक्रोशित भएका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन् ।

सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन’ भन्दै सम्बोधन सुरु गरेका उनले महामारीका बेला भाषणबाजीको कार्यक्रम नराख्न आग्रह गरे ।

खतरा रोग आएको भन्दै उनले भने, ‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । ठुलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहनल्नु पर्ने ?’ भन्दै थर्काएका छन् ।

एक समय नेविसंघको सभापति भएर आएको आफू चारपटक प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘तपाईंहरु कोही हुनसक्नुहुन्छ भोलि यस्तै हिसाबले ? लाज पनि छैन ।’

अहिले गाउँ ठाउँ स्कुल कतैपनि नेविसंघ नरहेको र कुनैपनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित भए । पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरूलाई निर्देशन दिए ।

‘राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस् । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस् । जहाँ पनि हारेको हारेकै छ नेविसघं लाज पनि छैन् । हामी सबैठाउँमा जितेका थियौं । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कही पनि नेविसंघ देखिँदैन । गाउँ स्कुलमा जबसम्म नेविसंघ हुँदैन तबसम्म कहिल्यै पार्टी बलियो हुँदैन । त्यही नेविसंघ त हो नी पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने । कहिले सभापतिलाई भनेँ ।’
कसरी जिते कम्युनिष्टहरू । उनीहरुले गाउँगाउँमा बनाए । काठमाडौंमा आएर बर्ताबर्ता भाषण गरेर केही हुने वाला छैन । गाउँमा जाउ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनिमात्र झगडा गर्न आऊ । केही नगर्ने मसित कुरा गर्ने ?, उनले आक्रोस पोखे ।