धनकुटा: पहाडी क्षेत्रकका डाँडाकाडाँडा आफैमा मनमोहक हुने गरेका छन् । तर पुर्बाधार अभाबका कारण प्रसस्त पर्यटकिय सम्भाबना बोकेका डाँडा ओझेलमा पर्ने गरेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेको एक त्यस्तै डाँडोमा भने नमुना पार्क निर्माण गरीएको छ ।

महालक्ष्मी नगरपालिका वडा नं. ६ र ७ को सिमानामा पर्नै गढीमा डाँडैडाँडा वनझाक्री पार्क निर्माण गरिएको छ । प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको लगानीमा २ करोड ८३ लाख ७९ हजार ६ सय ५५ रुपैयाको लगानीमा पार्क निर्माण गरिएको हो । पार्कमा वनझाक्रीको मूर्ति, पर्यटकका लागि करिब एघार सय खुड्किला रहेको रेलिङ रहितको सिढी र विश्रामस्थल, सौचालय आदि निर्माण गरिएको छ । पार्क निर्माण भएपछि स्थानीयबासी पनि खुसि भएका छन । पार्क निर्माणसँगै नगरपालिकाले पर्यटन क्षेत्रमा एउटा ठूलो फड्को मारेको स्थानीय नारायण पौडेलको भनाइ छ ।

यस क्षेत्रबाट अरुण नदि आसपासका फाटिला क्षेत्र, बिश्वकै होचो अरुण उपत्यका, मौसम खुलेको समयमा मकालु लगायत बिभिन्न हिमश्रृखला देख्न सकिन्छ । पार्क निर्माण ०७६ साउन १९ गते सुरु भएको र आगामी माघ १९ गते सम्पन्न हुने सम्झौता भएपनि सम्झौताको अबधीको ७ महिना अघि नै निर्माण सम्पन्न भएको पार्क निर्माणको ठेक्का पाएको वाइपिआर निर्माण सेवाका सञ्चालक महेन्द्र निरौलाले बताए ।

महालक्ष्मी नगरपालिकाले यो पार्कसँगै अन्य पार्क पनि निर्माण गरिरहेको जनाएको छ । पार्क निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय सम्पदास्थल एवम् सांस्कृतिक गतिविधिलाई समेत प्रचार–प्रसार गर्ने लक्ष्य राखिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए ।
वन झाक्री पार्क निर्माणस्थलममा परापूर्वकालमा वनझाक्रीहरु घुम्ने गरेको किम्बदन्ती रहेकोले वनझाक्री पार्क निर्माण गरिएको हो । पार्कमा पर्यटकको सुविधाका लागि विभिन्न पूर्वाधार निर्माण गरिने बताइएको छ ।