आन्डमन एक सुन्दर टापु हो । नेपालबाट बिना भिसा पुग्न सकिने टापु हो आन्डमन ।  आन्डमन मलेसिया नजिक रहेको समुद्रमा उभिएको भारत अधिनस्त टापु हो ।

आन्डमन टापु पुग्ने अवसर यो पटकको बोलबमले दियो । हामी इटहरीबाट एक समूह गयौँ । बिहार हुँदै झारखण्ड पुगेर बोलबम मनायौँ । बोलबम सकेर हामी एक दिनको रेल यात्रामा कोलकाता पुग्यौँ । कोलकाताबाट करिब दुई घण्टाको उडानमा हामी १७ साउनको बिहान ७ बजे आसपास आन्डमन टापु पुग्यौँ ।

आन्डमन ओर्लनेबित्तिकै हामीलाई एक होटलमा लग्यो एक पर्यटन बसले । भोलिपल्ट हामी आन्डमनको पुग्नैपर्ने ह्याबलक टापु पुग्यौँ । ह्याबलक त्यहाँको अत्यन्तै पर्यटकीय केन्द्र रै’छ । हामी २ घन्टाको पानीको यात्रा भएर ह्याबलक पुगेका थियौँ ।
ह्याबलकमा हामीले समुद्रका उर्लदा छालसँग रम्ने मौका पायौँ । हामीले समुद्र र जङ्गल टाँसिएको सुन्दर दृश्य त्यहीँ देख्यौँ । कताकता पहाडमा समुद्र ठोक्किन आएजस्तो अनुभव भयोे त्यो स्थानमा मलाई । त्यहाँ मैले स्कुपा डाइभिङ गरे । स्कुपा डाइभिङ भनेको अक्सिजन लगाएर समुद्रमुनि जाने डाइभिङ हो । यसमा गाइडले हामीलाई सहयोग गर्छन् ।

सामुद्रिक टापु आन्डमन बसाइमा थप आनन्द त्यहीबेला भयो जब हामीले नेपाली बस्ती नै देख्यौँ । धेरैले नेपाली भाषा भने भुलेको हामीले पायौँ । हामी त्यहाँ पुगेको दिनदेखि नै गाडी चलाएर सहयोग गर्ने एक तामाङ युवा भेटिए । तर, उनले न तामाङ भाषा बोल्न सक्थे न त नेपाली नै ।bikram ghimire copy

आन्डमन र श्रीलङ्का टापु कनेक्सन
नेपाल भूपरिवेष्ठित देश हो । त्यही भएर हामीलाई टापु र समुद्र विशेष लाग्छ । बेलाबेला मात्रै आउने भारत आउँदा आन्डमन टापु आउन तलतल लाग्नुमा मेरो पनि त्यही आकर्षण हो ।

मैले आन्डमनमा तीन दिन बिताएर ५० हजार खर्चिँदा केही घाटा भएको महसुस भएन । किनभने त्यहाँका सुविधा, सुन्दरता र यात्रा अत्यन्तै नौलो थियो । आनन्ददायी थियो ।

आन्डमन पुगेर नेपाल आएपछि मलाई लाग्यो कि हाम्रै प्रदेश १ को श्रीलङ्का टापुमा पनि आन्डमनको अनुभूति दिन सकिन्छ । आन्डमन जस्तै श्रीलङ्का टापु पनि पानीले घेरिएको छ । यत्ति हो एकातिर कोशीको मूल प्रवाह र अर्कोतिर पुरानो भङ्गालेले घेरिएको छ । उता, आन्डमन भने समुद्रले घेरिएको छ ।
कोशीको बाढीमा आउने छाल र आन्डमनमा समुद्रको छालको अनुभूति भने उस्तै छ । कोशीमा जेटबोट र ¥याफ्टिङ चल्छ । आन्डमनमा भने पानीजहाज चल्छ । स्कुपा डाइभिङ हुन्छ । कोशीमा पनि स्कुपा डाइभिङ गर्न सकिन्छ । कोशीमा कतैकतै धेरै गहिरो स्थान छ । ती क्षेत्र पहिचान गरेर यस्तो खेल खेलाउन सकिन्छ । मैले स्कुपा डाइभिङ गर्न ३ हजार ५ सय तिरेँ आन्डमनमा । श्रीलङ्का टापुमा पनि यस्तै प्याकेज ल्याएर सङ्लो पानी भएको बेला चलाउन सकिन्छ ।

आन्डमानजस्तै बनाउन कोशी कटान रोक्न जमिनलाई राम्रोसँग बाँध बाँधेर जोगाउन सकिन्छ । श्रीलङ्का टापुमा रहेको सयौँ बिघा खाली र सरकारी जग्गामा आन्डमनमा जस्तै विभिन्न रिसोर्ट र होटल बनाउन सकिन्छ । कोशीको बहाव व्यवस्थापन गरेर पानीमा खेलिने विभिन्न खेल कोशीमै खेलाउन सकिन्छ । कोशी टप्पु वन्यजन्तु आरक्ष, सप्तकोशी र श्रीलङ्का टापु नेपाली मात्रै होइन विदेशीको आकर्षणमा छन् ।

आन्डमनकै शैलीमा कोशीको आफ्नो मौलिकता राखेर टापुको महसुस गराउने पूर्वाधार र खेल श्रीलङ्का टापुमा दिन सकिन्छ ।
कोशी कटान रोक्न र कोशीको बहाव व्यवस्थापन गर्नबाहेक अरुमा धेरै खर्च हुँदैन । राज्यले यत्ति गरेपछि निजी क्षेत्र आफैँ आउँछ । रिसोर्ट होटल खुल्छन् । विशाल क्षेत्रफल भएको श्रीलङ्का टापु क्षेत्रमा विभिन्न प्रादेशिक फुटबल स्टेडियम, प्रदर्शनी केन्द्र र क्रिकेट पिचहरू बनाएर थप चहलपहल बढाउन सकिन्छ ।

आन्डमन घुमेको पर्यटक र श्रीलङ्का टापु नजिकैको बेलका नगरपालिका क्षेत्रमा जन्मेहुर्केकाले यी दुवैको तुलना मात्रैले मलाई आनन्द दिन्छ । यसलाई व्यावहारिक रूपमा लागू गर्न भने श्रीलङ्का टापु समेट्ने बराहक्षेत्र र बेलाका नगपालिकाका स्थानीय सरकार, प्रदेश १ सरकार र सङ्घीय सरकारले काम गर्नुपर्छ । सरकारले पूर्वाधार तयार गरे व्यवसाय गर्न निजी क्षेत्र स्वत आउनेछ ।