धनकुटा: सरकारले धनकुटालाई कोरोनामुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकाका २ जना र सहिदभूमि गाउँपालिकामा १ जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा छथर जोरपाटीका ३८ र ३९ वर्षका पुरुष र सहिदभूमिका २८ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिए । संक्रमितहरुमा छथर जोरपाटीका बहराइन र साउदीबाट आएका हुन् भने सहिदभूमिका कतारबाट १४ दिन अगाडि आएका हुन। उनीहरु सम्बन्धित गाउँपालिकाले बनाएका क्वारेन्टाइनमा बस्दै आएका थिए ।
विदेशबाट आएर सहिदभूमिको क्वारेन्टाइनमा बसेका ७ जनाको पिसिआर परिक्षण गर्दा १ जनामा र छथर जोरपाटीको क्वारेन्टाइनमा बसेका २५ जनामा पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको प्रमुख गुरागाईले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएका तीनै जनालाई उपचारका पूर्वाञ्चल विश्व विद्यालयको आईसोलेशनमा पठाईने प्रमुख गुरागाईले बताए। धनकुटामा यसअघि ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनिहरु सबै जना उपचार पछि निको भएर घर फर्किसकेका छन ।