प्रदेश १ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले मन्त्रालय सम्हालेकै हप्तामा पर्यटनको बारेमा छलफल चलाएका थिए ।
प्रदेश १ का पर्यटन उद्यमी, पर्यटनकर्मी र पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री कुसियतले प्रदेशको पर्यटनको श्रीवृद्धिको लागि संवाद शुरु गरेका थिए । पर्यटन क्षेत्रको विकासमा धेरै सक्रिय मन्त्री कुसियत आज विश्व पर्यटन दिवसमा व्यस्त छन् । प्रदेश १ का विभिन्न पर्यटन कार्यक्रममा व्यस्त हुने मन्त्री कुसियतले विराट अनुपमसँग प्रदेश केन्द्रित पर्यटन संवाद यसरी गरेका छन्ः

विश्व पर्यटन दिवसमा कहाँकहाँका कार्यक्रममा व्यस्त हुनुहुन्छ ?
विराटनगरदेखि दमक हुँदै काकरभिट्टाको पर्यटन कार्यालयसम्म विभिन्न पर्यटकीय कार्यक्रमहरू छन् । कतै म आफैँ त कतै सचिवज्यूहरू पुगेर हामी सहभागी हुनेछौँ ।

प्रदेश सरकार बने पनि अझै पनि तपाईंको मन्त्रालयमा पर्यटनतर्फका कर्मचारी छैनन् । यस्तो अवस्थामा कसरी पर्यटन कार्यक्रम अगाडि बढ्दैछन् ?
हाम्रो मन्त्रालयमा आवश्यक ४५ कर्मचारीहरू छन् । तर, मन्त्रालयमा हाल २२ कर्मचारी मात्रै छन् । २३ कर्मचारी अझै अपुग छन् । वन तर्फका थुप्रै कर्मचारीहरू छन् । पर्यटनतर्फ छैनन् । तर पनि हामीले काम भने गरिरहेका छौँ ।

पर्यटन क्षेत्रमा देखिनेगरी के के कामहरू भएका छन् ?
प्रमुख काम भनेको अब प्रदेश १ मा थप दुई अध्यागमन कार्यालयहरू हुनेछन् । पहिले झापाको काकरभिट्टामा मात्रै रहेको अध्यागमन कार्यालय अब मोरङको विराटनगर र इलामको पशुपतिनगरमा बन्दैछ । मैले शपथ ग्रहणको दोस्रो दिनमै यो कुरा गरेको थिएँ । अब विहार र दार्जिलिङ आएका विदेशी पर्यटकहरूलाई अन अराइभल भिसा लिन झापा नै जानुपर्ने अवस्था रहेन । प्रदेशमा पर्यटन आवागमनमा नीतिगत समस्या रहेन ।

अर्को हामीले गरेको काम भनेको हामीले विभिन्न पर्यटकीय गन्तव्यहरू समेटेर २ सर्किटहरू बनाएका छौँ । धार्मिक सर्किटतर्फ विराट राजाको दरबार, बर्जुताल, कौवाखोट, रामधुनी, बराहक्षेत्र, विष्णुपादुका, दन्तकाली, पिण्डेश्वरसहित धरानका धामहरू अनि तालतलैयासम्मको करिडोरको डिपिआर बन्ने क्रममा छ ।

धार्मिक, प्राकृतिक पदमार्गको पनि हामी डिपिआर बनाउँदैछौँ । त्यो पाँचथरको पटके डाँडा हुँदै पाथीभरा अनि हलेसी सम्मको पदमार्ग हो । यो पदमार्गले पहाडी र हिमाली सुन्दर दृश्यहरू प्रदान गरेर आगन्तुकहरू भुल्याउने छ ।

यीबाहेक अरु के के दीर्घकालीन पर्यटकीय कामहरूमा प्रदेश सरकारले सोचेको छ ?
प्रदेशका सबै मुख्य पर्यटकीय क्षेत्रसम्म सहज र सहुलियतपूर्ण ढङ्गले पुग्ने वातावरण सिर्जनाका लागि कार्यक्रम ल्याउँदै छौँ । सबैभन्दा महत्वपूर्ण प्रदेश १ को विराटनगर विमानस्थलबाट विदेशी उडान र हिमाली उडानका कार्यक्रमहरू ल्याउने सोचेका छौँ । सङ्घीय सरकारले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएकाले यसमा काम गर्न सजिलो छ ।

नेपालमा भारत र चीनजस्ता धेरै पर्यटकहरू उत्पादन गर्ने छिमेकी देशहरू छन् । तर, नेपालीमा भने युरोपियन र अमेरिकन पर्यटकहरू मात्रै खोज्ने चलन छ । यो कुरा प्रदेश १ मा पनि लागू हुने हो ?
प्रदेश १ खैरो छालाका मान्छे मात्रै पर्यटक हुन् भन्ने भ्रममा छैन । हामी सिमानामै रहेका भारत, नजिकै रहेको बङ्गलादेश तथा भुटानका पर्यटकहरू तान्ने लक्ष्यमा छौँ । हामी भारत र भुटानका विभिन्न धार्मिक र बङ्गलादेशका प्राकृतिक पर्यटकहरू तान्ने कार्यक्रमहरू ल्याउने पक्षमा छौँ ।

देश सङ्घीयतामा आएपछि प्रदेश १ को झापाको काकरभिट्टा र सोलुखम्बुको नाम्चेमा रहेका पर्यटन कार्यालय पहिले जस्ता चलायमान छैनन् । यस्तो अवस्थामा कसरी पर्यटन क्षेत्रका कार्यक्रमहरू ल्याउन र नियमन गर्न सकिएला ?
पर्यटन कार्यालयहरू अब सङ्घीय सरकारबाट प्रदेश सरकार मातहतमा आएका छन् । यी दुवै कार्यालयसहित थप ३ कार्यालय खोल्ने बारेमा हामीले प्रदेश क्याबिनेटबाट निर्णय नै गरेका छौँ । निर्णय सङ्घीय सरकारमा पठाइएको छ । यो कार्यान्वयन भएपछि प्रदेशको पर्यटन क्षेत्रमा धेरै कामहरू हुनेछन् ।

प्रदेश १ सरकारले २ वर्षमा ५ लाख पर्यटक तान्ने लक्ष्य लिएको थियो । तर, सरकारी सर्भे अनुसार पूर्वी नाकाबाट मात्रै २ लाख २० हजार पर्यटक गत वर्ष आएको देखिन्छ । सबै नाकाको जोड्दा ५ लाख बढी भारतीय पर्यटकहरू त एकै वर्षमा आउने देखिन्छ । अबको लक्ष्य के हो ?
अबको लक्ष्य भनेको हामीले सिक्किम र दार्जिलिङको अनुपातमा लाखौँ पर्यटक एकै वर्षमा ल्याउने हो । त्यसको लागि सिक्किम र दार्जिलिङ क्षेत्रमा आएका तेस्रो देश र भारतकै पर्यटकहरू तान्ने प्रदेश सरकारले कार्यक्रम ल्याउने छ । पशुपतिनगरको अध्यागमन कार्यालयले त्यसलाई सहयोग गर्नेछ । प्रदेश १ मा बढीभन्दा बढी भारत, भुटान, बङ्गलादेश, चीन र युरोप तथा अमेरिकाका पर्यटकहरू ल्याउने हाम्रो लक्ष्य हुनेछ ।

आज विश्व पर्यटन दिवसको अवसरमा के सन्देश दिनुहुन्छ ?
म सबैलाई प्रदेश १ मा घुम्न आउन आग्रह गर्छु । प्रदेश १ मा धेरै पर्यटकीय ठाउँहरू भए पनि कम घुमिएको क्षेत्र हो । व्यवसायीहरूलाई आएर पर्यटन व्यवसाय गर्न आग्रह गर्छु । पर्यटन अभियन्ताहरूलाई प्रदेश १ को पर्यटनमा क्रान्ति गर्न के के सहयोग प्रदेश सरकार र मेरो मन्त्रालयबाट गर्न सकिन्छ त्यो गर्न तयार भएको जानकारी गराउँछु ।