इटहरी: बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौमलले आज थप १०० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको छ । उनीहरूको देशका विभिन्न ठाउँमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घण्टाको अवधिमा २०७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म १२ हजार ६८४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
यस्तै बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।