इटहरीः सवारी दुर्घटनामा मात्र विगत चार वर्षको अवधिमा मात्र पूर्वमा २ हजार जनाको मृत्यु भएको छ । प्रदेश नम्बर १ को ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार विगत ४ वर्षमा भएका १४ हजार दुर्घटनामा २ हजार जनाको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा गत आर्थिक वर्ष ०७४÷०७५ मा मात्र ५ सय ६९ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ५६ जना घाइते भए । त्यस्तै, आर्थिक वर्ष ०७३÷०७४ मा घाइतेको सङ्ख्या झन् बढी छ । ०७३÷०७४ मा ३ हजार ८ सय २० जना घाइते भएकामा ४ सय ९८ जनाको ज्यान गएको थियो । आर्थिक वर्ष ०७४÷०७५ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ७१ जना बढीको ज्यान गएको थियो ।

यसरी दिनप्रतिदिन सवारी चाप बढ्दै जानु अनि सडकको गुणस्तर खस्किनुले निरन्तर दुर्घटना सङ्ख्याको बढ्दै गएको तथ्याङ्कले देखाउँछ । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार पूर्वमा सडक दुर्घटनामा परी मुलुकमा २ दिनमा सरदर ३ जनाले ज्यान गुमाइरहेका छन् ।

चालकको गल्तीले बढी दुर्घटना

सरकारी तथ्याङ्क हेर्दा पूर्वी नेपालमा मात्र होइन मुलुकभर हुने झन्डै ७४ प्रतिशत सवारी साधन दुर्घटना चालकको लापरवाहीका कारण भएको पाइन्छ । तथ्याङ्कअनुसार ४ वर्षको समयमा पूर्वमा भएका अधिकांश दुर्घटना चालकको लापरवाहीले गर्दा भएका छन् । 

‘अधिकांश दुर्घटना चालकको गल्तीकै कारण हुने गरेका छन्,’ पूर्व क्षेत्रीय ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक अविचन्द्र रिजाल भन्छन्, ‘चालकको गल्तीसँगै मोटरसाइकल र सिटी सफारीका कारण पनि दुर्घटना अत्यधिक हुने गरेको छ ।’

सवारी दुर्घटना हुने अर्को कारण तीव्र गति हो । कुल सवारी दुर्घटनाको १३.२२ प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेको देखिन्छ । यस्तै यात्रुको गल्तीका कारण पनि सवारी दुर्घटना हुने गरेका छन् । यसबाहेक ओभरटेक, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी र ओभरलोडका कारण सवारी दुर्घटना हुने गरेको पाइन्छ ।

जीर्ण सडक पनि कारक

चालक, यात्रु वा पैदल यात्री मात्र होइन जीर्ण भएको सडक पनि दुर्घटनाको कारक हो । वर्षाैंसम्म सडक मर्मत नगरिँदा पनि दुर्घटना वृद्धि भएका छन् । सडक बनाएर छोड्ने तर मर्मत नगर्ने प्रवृत्तिले पनि दुर्घटना निम्त्याउने गरेको चालकहरू बताउँछन् । सडकमा पैदल यात्रु र सडक यात्रुलाई छुट्टाछुट्टै सडक नहुनु र भएका सडकको अतिक्रमण हुनुले पनि दुर्घटना बढिरहेको छ ।

‘पिच गरेको बाटो बनिसक्न नपाउँदै भत्किन थाल्छ,’ सुनसरीको ग्रामीण इलाकामा सार्वजनिक यातायात चलाउने कमल राई भन्छन्, ‘बल्लबल्ल बनाएको बाटो बनाउँदै कमसल बनाउँछन् अनि बेलाबेलामा मर्मत गर्ने काम पनि हुँदैन ।’

सडक विभाग तथा स्थानीय सरकारको सडक मर्मतमा ध्यान नजानु तथा सडकमा ट्राफिक चिह्न नहुनुले पनि दुर्घटनालाई बढाएको यात्रुको भनाइ छ ।

कमजोर लाइसेन्स वितरण प्रणाली र कारबाही

दुर्घटनामा यति ठूलो सङ्ख्यामा जनधनको क्षति हुँदा पनि दुर्घटना न्यूनीकरणको सम्बन्धमा नीतिगत बहस र कानुनी जटिलतामा छलफल हुन सकेको छैन । दुर्घटनाको स्थिति भयावह हुँदा यसलाई नियन्त्रण गर्न प्रभावकारी प्रयास हुन सकेको छैन ।

कारबाहीको लागि राज्यले ट्राफिक प्रहरीलाई सीमित रूपमा मात्र कारबाही गर्ने जिम्मेवारी दिएको छ । ट्राफिकको काम सडक प्रयोगकर्ता र सवारी प्रयोगकर्तालाई जरिवाना गराउनेजस्तो मात्रै देखिन्छ । चालकले  दुर्घटना गराएको हकमा पनि कानुनको कमजोरीलाई टेक्दै साधारण सजाय मात्रै हुने गरेको छ ।

जरिवानाबाट गत आर्थिक वर्षमा झन्डै २० करोड राजस्वः

ट्राफिक प्रहरी कार्यालय इटहरीले आर्थिक वर्ष ०७४÷७५ मा झन्डै २० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार ३ लाख २५ हजार ७ सय ९२ वटा सवारीलाई कारबाहीको दायरामा ल्याइएको हो । जरिवाना बापत कार्यालयले १९ करोड ७२ लाख ९ हजार ५ सय रकम सङ्कलन गरेको बताइएको छ ।