इटहरी: नेपालमा पछिल्लो २४ घण्टा भित्रमा कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ देखि ६५ वर्ष उमेर समुहका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले चार जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा डाक्तर जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साका एक महिलासहित चार जना रहेका छन् ।

वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको १५ साउनमा मृत्यु भएको थियो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ६ साउनमा कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो ।

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर—१६ का ३५ वर्षका पुरुषको १५ साउनमा नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साउन ५ गते निजी क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनी स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए ।

साउन १३ मा अस्पताल भर्ना उनको नमूना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो ।

यस्तै वीरगञ्ज २ का ६५ वर्षीय अर्का पुरुषको पनि १५ साउनमै कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा.गौतमले बताए । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै वीरगञ्ज ११ स्थायी घर भइ ललितपुरको थसिखेल ५ बस्ने ६५ वर्षीया महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

मधुमेहकी बिरामी ती महिला ६ साउनमा अस्पताल भर्ना भएकी थिइन् । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन् ।

६ साउनमा कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ५६ पुगेको छ ।

कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । मन्त्रालयले शुक्रबार थप २२४ जनामा कोरोना पोजिटिभ भएको जनाएको छ ।

कुल संक्रमितमध्ये जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ३९९ पुगेको छ ।