इटहरी :सोमबार प्रदेश १ मा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका ४६ जना, सुनसरीका ५ जना र झापाका ६ जना रहेका छन् ।
मोरङका ४६ मध्ये विराटनगर महानगरपालिकाका २२ जना, कटहरी गाउँपालिकाका २ जना, रंगेलीका २२ जनामा कोरोना पोजेटिभ देखिएका १३ पुरुष र ९ महिला रहेका छन् ।
यस्तै सुनसरीको इटहरीमा ३ जना, धरान र इनरुवामा १÷१ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १६ जना पुरूष र ६ जना महिलामा संक्रमण देखिएको छ । ति मध्ये ७ जना १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हुन् । यस्तै प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता चुढामणी आचार्यसहित उनको परिवारका अन्य दुई सदस्य पनि छन् ।
विराटनगरमा देखिएका संक्रमतिमध्ये न्यूरो हस्पिटलका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी छन् ।
यस्तै कोशी अस्पतालमा कार्यरत थप २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ ।
सोमबार झापामा ६ जनालाई संक्रमण देखिएको छ । झापाको अर्जुनधारमा ५ पुरूष र बिर्तामोडमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १२८ पुगेको छ ।
यस्तै प्रदेश १ बाट सोमबार थप ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ ।