इटहरीः  आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका अन्य स्थानमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले प्रकाशन गरेको बुलेटिनमा उल्लेख गरेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध विभागले गरेको छ ।

विभागले नेपालमा अझै पनि मनसुनपूर्वको स्थानीय मौसमी गतिविधि सक्रिय रहेको जनाएको छ । भारतीय क्षेत्रबाट आएको मौसमी प्रणाली पश्चिमबाट मध्य क्षेत्र सर्ने क्रम रहेको विभागले जनाएको छ ।
सोही मौसमी प्रणालीले बिहीबार साँझ वर्षासँगै आएको भिषण हावाहुरीका कारण कैलाली, कञ्चनपुर लगायत जिल्लामा मानवीय क्षति भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।