सङ्खुवासभाः खाँदबारी नगरपालिका क्षेत्रमा हाल ५ वटा एम्बुलेन्स निर्वाध रूपमा सञ्चालनमा छन् । नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल, घिमिरे कल्याणकारी सेवा, खाँदबारी नगरपालिका र गोपाल भगत मेरोरियल हस्पिटलको एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।
तर जिल्लाको कर्णाली भनेर चिनिने सिलिचोङ गाउँपालिकामा भने एउटा पनि एम्बुलेन्स नहुदाँ समस्या भएको छ । अझ रोचक प्रसङ्ग त खाँदबारी नगरपालिकामा ५ वटा एम्बुलेन्स सञ्चालन हुँदहँुदै पनि सिलिचोङ गाउँपालिकाको लागि भनेर आएको एम्बुलेन्स पनि खाँदबारी नगरपालिकामा सञ्चालन हुने भन्ने विषयले चर्चा पाएको छ ।
अरुण तेस्रोले आयोजनाले आयोजना प्रभावित क्षेत्रलाई ३ वटा एम्बुलेन्स दिने भनेको थियो । सोही अनुसार सिफारिस भएको र सञ्चालनमा आउने क्रममा रहेको एम्बुलेन्स खाँदबारीले नै प्रयोग गर्ने चर्चा चलेपछि यस विषयमा बहस हुन थालेको छ । आयोजना प्रभावित क्षेत्रमध्ये मकालु गाउँपालिका, चिचिला गाउँपालिका र सिलिचोङ गाउँपालिकालाई १÷१ वटा एम्बुलेन्स दिइने भनिएको थियो ।
तर, सडक सञ्जाल नजोडिएको भन्दै सिलिचोङको नाममा आउने एम्बुलेन्स खाँदबारीमै राख्ने प्रक्रिया अघि बढेको बताइएको छ ।
अरुण नदीमा पक्की पुल नभएका कारण सिलिचोङ गाउँपालिका सडक सञ्जालले जोडिएको छैन । तर, अरुणपारी सिलिचोङमा करोडौं रकम खर्चेर सडक बनाइएको छ । ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रदेखि सिधै अरुण पुलसम्म आगामी हिउँददेखि निर्वाध रूपमा सवारी सञ्चालन हुने योजना अघि सारिएको छ ।
सिलिचोङ गाउँपालिकाको १, २ र ३ वडाको सङ्गम स्थल बुधबारे (सिसुवाटार) मा नै एम्बुलेन्स राख्न पनि सकिने स्थानीय बताउँछन् ।
सिलिचोङ क्षेत्रमा भोट माग्ने क्रममा शिक्षा, स्वास्थ्य, यातायातलगायतका विकासका पूर्वाधारहरूको सुनिश्चितता गराउने भन्दै भाषण दिएका जनप्रतिनिधिहरूले यस्ता सुविधा कटौती गर्दै गएकोमा स्थानीयमा आक्रोश पैदा भएको सञ्चारकर्मी ध्यान कुलुङ बताउँछन् ।
समन्वय समितिलाई ज्ञापत्र पत्र
अरुण तेस्रो आयोजनाले आयोजना प्रभावित क्षेत्रलाई दिने भनेको एम्बुलेन्स सिलिचोङलाई नदिई खाँदबारी नगरपालिकामा राख्ने निर्णय भएपछि जनप्रतिनिधिहरूले जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएका छन् ।
गाउँपालिका प्रमुख रामबहादुर कुलुङ, वडाध्यक्ष मोहनसम्शेर कुलुङ लगायतको टोलीले बुधबार जिसस प्रमुख सुमन शाक्यलाई ज्ञापन पत्र बुझाएका हुन् ।
आयोजना प्रभावित गाउँपालिकालाई दिने भनिएको एम्बुलेन्स सिलिचोङ बाहेकका अन्य स्थानीय तहहरूले बुझिसकेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष कुलुङ बताउँछन् । सिलिचोङको एम्बुलेन्स खाँदबारीमा राख्ने निर्णय दुखद भएको उनको भनाइ छ । डाक्टरको दरबन्दी समेत रहेको प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन भईरहेको गाउँपालिकामा विभिन्न बहानामा सुविधा कटौती हुनुले विभेदपूर्ण व्यवहार देखाएको भन्दै यस विषयको समन्वय गरिदिन पत्र मार्फत् अनुरोध गरिएको उनले बताए ।
पत्रमा भनिएको छ ‘गाउँपालिकादेखि बुम्लिङटारस्थित अरुण पुलसम्म निर्बाध रूपमा यातायात सञ्चालनमा छ, अरुण पारीदेखि खाँदबारीसम्म पनि यातायात सञ्चालनमा रहेकाले एम्बुलेन्स सहजै सञ्चालन गर्न सकिन्छ ।’ अरुणपारीका नागरिकहरूलाई दिइने सेवा कुनै हालतमा कटौती गर्न नहुने कुलुङको भनाइ छ ।
एम्बुलेन्स सिलिचोङले नै पाउँछः जिसस प्रमुख
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य भने त्यस्तो व्यवहार नगरिएको बताउँछन् । आफूले सिलिचोङको एम्बुलेन्स सिलिचोङलाई नै दिनुपर्ने अडान राखे पनि सडक सञ्जाल नरहेको भनिएपछि खाँदबारीमा राख्ने निर्णय भएको शाक्यले बताए । अरुण तेस्रो आयोजनाले पनि तुम्लिङटार–खाँदबारी चल्ने गरी खाँदबारीमा राख्ने चाहना राखेकाले त्यो निर्णय भएको उनले बताए ।
प्रमुख शाक्यले ज्ञापनपत्र बुझ्दै एम्बुलेन्स सिलिचोङलाई नै पाउने गरी विशेष पहल गर्ने प्रतिबद्धता जनाए । २ गाउँपालिकाहरू मकालु र चिचिलाले एम्बुलेन्सको चाबी बुझिसकेको तर खाँदबारीले अझै बुझ्न बाँकी रहेकाले उक्त एम्बुलेन्स सिलिचोङलाई फर्काउन आफू लागिपर्ने उनले आश्वासन दिए । प्रमुख शाक्यले भने, ‘ढुक्क हुनुहोस्, सिलिचोङले त्यो एम्बुलेन्स पाउँछ ।’
जनप्रतिनिधि र स्थानीय आक्रोशित
यसरी सिलिचोङको नाममा आएको एम्बुलेन्स खाँदबारी नगरपालिकामा राख्ने निर्णय भएपछि सामाजिक सञ्जालहरूमा विरोध शुरु भएको छ । आफूले सेवा दिनुको साटो विभिन्न निकायबाट प्राप्त भएको सुविधाबाट समेत वञ्चित गरेको आरोप जिससमाथि जनप्रतिनिधिहरूले लगाएका छन् । कतिपय स्थानीय भने आफूहरूलाई गरेको अन्यायविरुद्ध जस्तोसुकै पनि कदम उठाउन तयार रहेको भनी सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन् ।
स्थानीय दिपनकुमार राई भन्छन्, ‘औँलो पाउँदा डँुडुलो निल्न त भएन नि । हाम्रो लागि आएको एम्बुलेन्स अन्तै लगेर कवाडी बनाउन त हँुदैन नि । के सिलिचोङका नागरिक होइनन् ? के सिलिचोङका नागरिक बिरामी हँुदैनन् ?’