विराटनगर :कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसालेसनमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषलाई भर्नालगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । ती पुरुष विहान सवा ९ बजे अस्पताल पुगेका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

शुक्रबार दिउँसो कोरोना परीक्षण गर्दा ३ बजे पोजेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

मृतकमा एक सातादेखि ज्वरो र खोकीको समस्या रहेको थियो । उनी उच्च रक्तचापको समस्याले पनि पीडित थिए ।

कोशी अस्पतालमा यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ भने विराटनगरका मात्र ३ जनाको मृत्यु भएको छ । यस अघि विराटनगरका ५ र ९ का पुरूषको कोरोनाबाट मृत्यु भएको थियो ।

शुक्रबार मृत्यु भएकोसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । विराटनगरका तीनसहित रंगेलीका एक पुरुषको कोशीमै मृत्यु भएको थियो भने सुनवर्षीका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।