धरान:यहाँको महेन्द्र बहुमुखी क्याम्पसमा गठित आंशिक प्राध्यापक सङ्घमा आबद्ध प्राध्यापकहरूले मङ्गलबार क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिदिएका छन् ।
आफुँहरूले पटक–पटक माग गरे पनि विश्वविद्यालयले वास्ता नगरेको कारण क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको उनीहरूले जनाएका छन् ।
सङ्घको केन्द्रीय समितिले घोषणा गरेको कार्यक्रमअनुसार तालाबन्दी गरिएको हो । त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकका रूपमा कार्यरत शिक्षकहरूले आफुँहरूलाई करारमा नियुक्त गरिनुपर्ने माग सम्बन्धित निकायसमक्ष लामो समयदेखि राख्दै आएका छन् ।
मागको सुनुवाइ नभएपछि चरणबद्ध आन्दोलनमा ओर्लिनु परेको सङ्घका महेन्द्र बहुमुखी क्याम्पस एकाइ अध्यक्ष किशोरकुमार राई र सचिव विज्ञान शर्माले विज्ञप्तिमार्फत् बताएका छन् । आफुँहरूले काम धेरै गनुपरे पनि सेवा–सुविधामा भने चरम विभेद गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आंशिक प्राध्यापकहरूले अहिले देशैभरि सङ्घर्षका कार्यक्रमहरू चरणबद्ध रूपमा गरिरहेका छन् । सङ्घको केन्द्रीय समितिको आह्वानमा देशभरि आन्दोलन भएको हो ।

mahendra clz