संविधान संशोधनसहितका माग राखेर आन्दोलनमा होमिएको सङ्घीय समाजवादी फोरम नेपाल हाल सरकार साझेदार दल भएको छ ।
सरकारकै विरुद्धमा आन्दोलन गरेको सो पार्टीको नेतृत्वमा नेपालले नाकाबन्दीको सामना पनि गर्नुपरेको थियो । हिजो पुराना पार्टीबाट असन्तुष्ट बनेर गएका नेताहरूको समूहबाट पार्टी निर्माण गर्ने अभियानकै एक उदाहरण हो सङ्घीय समाजवादी फोरम नेपाल । जसले हिजो मात्र प्रदेश नं १ को पहिलो अधिवेशन सम्पन्न गरेको छ ।
कहिले काङ्ग्रेस त कहिले कम्युनिस्ट पार्टीको कार्यकर्ता बनेका भुपेन्द्र नेम्वाङ प्रादेशिक कमिटीको पहिलो अध्यक्ष भएका छन् । अधिवेशनले पार्टी सङ्गठनमा दिएको ऊर्जा, पार्टीको आगामी कार्यदिशा तथा नेतृत्वको जिम्मेवारीको विषयमा नवनिर्वाचित अध्यक्ष भुपेन्द्र नेम्वाङसँग प्रदेश पोर्टलका राजनीतिक ब्युरो प्रमुख विनय बाह्रकोटीले गरेको कुराकानीः
प्रादेशिक संरचनामा पार्टीको १ नम्बर प्रदेशको नेतृत्व गर्ने मौका पाउनुभएको छ । कस्तो जिम्मेवारी महसुस गर्दै हुनुहुन्छ ?
यो मेरो व्यक्तिगत जीवनको लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि हो । पार्टीका साथीहरूले दिनुभएको जिम्मेवारीलाई मैले गम्भीरतापूर्वक लिएको छु । पार्टीको मूल मर्म र भावनाबाट प्रभावित भई पार्टीको सङ्गठन बिस्तारमा लाग्ने अठोट लिएको छु । तपाईँले भनेजस्तै मलाई धेरै जिम्मेवारी बढेको महसुस भएको छ । जुन जिम्मेवारीलाई म पूरा गरेरै छाड्छु ।
अब पार्टीले कस्तो भूमिका निर्वाह गर्छ ?
हामी सरकारमा भए पनि आन्दोलनकै क्रममा छौँ । हामीले भनेजस्तो सङ्घीयता आएको छैन । सङ्घीयताको नाममा देशमा कलह निम्त्याउने काम भइरहेको छ । पहिचानलाई सङ्कटमा पारेर देश विकासको कुरा गरिँदैछ । जुन यो देशको लागि सुहाउँदैन । अब हामी यो देशमा जे सुहाउँछ त्यो गर्नको लागि अग्रसर भएर लाग्छाँै । प्रदेश सरकारमा हामी प्रतिपक्षी भूमिकामा छौँ । प्रदेश सरकारको खबरदारी हाम्रो मुख्य जिम्मेवारीभित्र पर्छ ।
आफैँ सरकारमा भएर त्यही सरकारको विरोध गर्नु लाजमर्दो भएन र ?
कुरा त्यसो होइन । २०७२ भदौ ३ गते जारी संविधानमा हामीले खोजे जस्तो संरचनाको सङ्घीयता आउन सकेन । त्यसैले हामी सरकारमा पनि लिखित सहमति गरेर गएका छाँै । हामीले हाम्रो मुद्दालाई बिर्सिएका छैनौँ । माग पूरा गर्नको लागि सरकारमा गएका हाँै । संविधान संशोधन गर्न पनि दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले हामी सरकारमा सहभागी भएका हाँै । एउटा कुरा के भनाँै भने यो संविधान अन्तरिम संविधान २०६३ जत्तिको पनि छैन ।
कहिलेसम्ममा संविधान संशोधन होला ?
त्यो त समय लाग्छ । एउटा विधेयक पास गर्नका लागि त महिनौँ लाग्छ भने संविधान संशोधनजस्तो विषय त्यति सजिलै हुँदैन । यो सरकारको आयु भएकै बेला सम्ममा संशोधन हुने विश्वास लिएका छौँ । जसको लागि केन्द्रीय नेतृत्व तहमा कुरा भइरहेको छ ।
तपाईंहरूलाई नेपालका जातजाति लडाएर फाइदा लिने पार्टी भन्ने आरोप छ नि ?
हामीले जातीय राजनीति गरेका होइनौै । हामीले जातीयताको कुरा गरेका हाँै । पहिचानको कुरा गरेका हौँ । लिम्बुवान् कुनै जाति होइन यो पहिचान हो । वर्णाश्रम व्यवस्थाअनुसार पहिचानको कुरालाई हामीले सम्बोधन गर्नुपर्छ भनेका हौँ । जातको कुरा गरेका होइनाँै ।
आर्थिक हिसाबमा पहिचान बनाउने बेलामा किन जातीय र क्षेत्रीय बन्न खोज्नुभएको ?
तपाईँलाई भनौँ कि, राज्यले संस्कृत भाषाको लागि जति लगानी गर्छ त्यति नै लिम्बू वा तामाङ भाषाको लागि लगानी गरेको छ त ? यहाँ विभेद अझै व्याप्त छ । एउटै गाउँमा निजी स्कुलमा पढेर विदेशमा उच्च शिक्षा पढ्न जाने युवा र सरकारी स्कुल पढ्न नसकेर सानैदेखि श्रममा लागेका युवा पाइन्छन् । त्यो भनेको विभेद हो । राज्यले पहिले नै वर्णको आधारमा विभेद ग¥यो । अहिले त्यो वर्गमा परिणत भयो । समाजवाद भनेर मात्र हुँदैन समाजभित्रको विभेद चिर्न सकिएन भने आर्थिक पहिचानको कुरा आफँै ओझेलमा पर्छ । हरेक किसिमले विभेद जारी छ । जबसम्म विभेद हुन्छ तबसम्म समृद्धि सम्भव छैन । त्यसैको लागि पहिचानको कुरा उठाएका हौँ ।
तपाईँले भनेको विभेदको अन्त्यचाहिँ कसरी हुन्छ ?
राज्य आफैँले समाजमा विभेद छ भनेर स्वीकार गरिसक्यो । यदि विभेद हुन्थेन भने त यो जात र त्यो जातको लागि भनेर आरक्षणको व्यवस्था किन गर्नुपथ्र्यो ? अहिलेसम्म पनि मूर्ति छोएको र मन्दिर छिरेकै कारण पिटिनु परिरहेको छ । यो जात र त्यो जातको नाममा कोटा प्रणाली मौलाउँदै गइरहेको छ । यसले गर्दा के देखिन्छ भने यो देशमा अझै विभेद जारी छ र त्यसको लागि आन्दोलन जरुरी छ । जसको नेतृत्व सङ्घीय समाजवादी फोरमले गर्दैछ ।
प्रदेश नम्बर १ को नाम र राजधानीको बारेमा तपाईंको पार्टीको धारण के छ ?
त्यसमा हाम्रो पार्टीको धारणा बनिसकेको छैन । मूल कुरा हामीले यो सङ्घीयतालाई नै मानिनसकेका कारण हाम्रो धारणा बन्न सकेको छैन । पहिचानमा आधारित सङ्घीयता हुनुपर्छ । जुन ११ प्रदेश भएर मात्र पूरा हुन्छ ।
कहिले काङ्ग्रेस त कहिले माले हुँदै अहिले सङ्घीय समाजवादी फोरम नेपालमा हुनुहुन्छ । तपाईँ आफै राजनीतिक रूपमा अस्थिर हुनुहुन्छ भन्ने आरोप छ नि ?
समय आफैँमा परिवर्तनशील छ । त्यसै अनुसार हामी पनि परिवर्तित हुन सक्नुपर्दछ । पहिले म जुन पार्टीमा थिएँ ती पार्टीका नेताहरूले आफ्नो आदर्श र जनतासँग गरेका वाचाहरू बिर्सिन थाले । अहिले म जुन पार्टीमा छु यसले सङ्घीयतामार्फत् जनताको सपना पूरा गर्न सक्छ । सङ्घीयताबाट जातीय समस्या हल गर्ने र समाजवादबाट वर्गीय समस्या हल गर्नका लागि सङ्घीय समाजवादी फोरम नेपालमा गएको हुँ ।