धरानः धरानमा पहिलो पटक साहसिक खेल ‘फ्लाइङ फक्स’ को शुक्रबार परीक्षण शुुरु गरिएको छ ।
काठमाडौं र पोखरापछि धरानमा पहिलो पटक यो साहसिक खेलको परीक्षण शुरु गरिएको हो । धरान–२० को सर्दू जलाधार क्षेत्रमा शुक्रबारदेखि यसको परीक्षण शुरु गरिएको हो । तीन दिनसम्म परीक्षण गरिने खेलको प्रदेश १ का पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटन गरे ।
‘फ्लाइङ फक्स’ भनेको सेफ्टी बेल्टसहित तारमा झुण्डिएर ओरालोतिर झर्ने खेल हो । यसमा जिप फ्लायर पनि गर्न सकिन्छ । जिप फ्लायर चाहिँ वृद्ध, अशक्त तथा डराउनेहरूको सहजताको लागि गरिन्छ । फ्लाइङ फक्सका इेभेन्ट मेनेजर एवम् प्रशिक्षक अमित आचार्य भन्छन्, ‘तेर्साे परेर खेलिने फ्लाइङ फक्स हो । झुण्डिएर खेलिने जिप फ्लायर हो ।’ काठमाडौ र पोखरामा जस्तै धरानमा पनि यो खेलबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको आचार्यले बताए ।
‘आफू हाइकिङ, साइक्लिङ गर्न रुचाउने हुनाले यस ठाउँतिर साइकल कुदाएर हिँड्थे । यो ठाउँमा फ्लाइङ फक्सको सम्भावना देखेर परीक्षणको लागि ल्याएँ,’ उनले भने । यसलाई निरन्तरता दिने उनको भनाइ छ ।
पहिलो दिन ३० जना यो खेलमा सहभागी भएको आचार्यले बताए । साहसिक खेल भएकाले धेरै मानिस डराउने गरेको उनले सुनाए । यो खेलको लागि लामो राख्न सकिने भए पनि सो क्षेत्रमा बिजुलीको तार रहेकाले ५० मिटरो दूरी राखिएको उनले बताए । फ्लाइङ फक्स खेलिरहेको क्षेत्रबाट पहिला भीमनगर (भारदह पुल) निर्माणको लागि घिर्लिङको सहायताले ढुङ्गा झारिन्थो । यसलाई ऐतिहासिक घिर्लिङ मानेर आधुनिक रूप दिन साहसिक खेलको शुरुवात गरिएको पर्यटन विकास केन्द्र (सेड नेपाल) का अध्यक्ष आनन्द श्रेष्ठले बताए । यो खेल जैविक विविधता पार्कको सानो अंश रहेको उनले बताए ।
उनी भन्छन्, ‘यसबाट पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’ यस क्षेत्रलाई जैविक विविधता पार्कको रूपमा प्रस्ताव गरिएको उनले बताए । जैविक विविधता पार्कभित्र रक गार्डेन, हेल्थ पार्क, हर्बल गार्डेन, बेम्बो म्युजियम गार्डेन, फ्लावर ब्रिज, वनभोज स्थल, स्मृति वन, पौडी स्थल, फूलको जङ्गल, ध्यान केन्द्र, ढुङ्गाको सङ्ग्रहालय, धार्मिक वनलगायतका १० वटा प्रस्तावित योजना रहेको उनले बताए ।
यस क्षेत्रमा विभिन्न विज्ञबाट गरिएको अनुसन्धानले ४ सय प्रजातिका वनस्पति, २८ प्रजातिका जीवजन्तु, २६ प्रजातिका चरा, १० प्रकारका पुतली तथा विभिन्न जडीबुटी फेला परेको बताइएको छ । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘जैविक विविधता पार्कलाई विद्यार्थीको लागि अध्ययन केन्द्रको रूपमा पनि विकास गर्न सकिन्छ ।’ यसको सम्भावित अध्ययनको लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएको छ ।