मौन मौन पदचाप बोकेर हावा सुस्त सुस्त बहिरहेको छ। चराहरु हिजोभन्दा अलि भिन्न लयमा चिर्बिराइरहेछन् ,ध्यानकर्मीहरुले नित्यकर्म छोट्याएका छन् ।मन्दिरमा गेट नखुलेको लगभग आधा बर्ष पुग्न लागेको छ।पूजाको घण्टी लय भुलेसरि हतास आवाजमा बजिरहेको छ। मेरो घरअघिको कच्ची सडकमा धूलो उड्दैन अचेल ताकि,बटुवा अनिश्चित कालका लागि घरभित्र छन्।मन्दिरमा पुजारीको स्तुतिगान फेरिएको छ। भदौको महिना हो यो,भक्तहरु छिनछिनमा बर्षने झरिसँग साँझबिहान पुकारा गर्छन्, हे झरि यो सारा रोगव्याधी बगाइदेउ भनेर।
“महामारीले चाडपर्व सबै मास्नेभो,छोरीसँग कुशे औँशीमा भेट नभाको चार लागो,यो साल तीज पनि खल्लो हुनेभो।“हिड्दाहिंड्दै चिउँडोमुन्तिर लौरो अड्याएर गाउँका एकजना बुबाले उदास मुद्रामा आफ्नो पीडा सुनाउनु भयो। त्यो दिन कुशे औँशीको भोलिपल्ट थियो। उहाँको अभिव्यक्तिपछि मैले मनमनै सोचें बुझ्नेहरुलाई कति प्रिय छन् संस्कृतिहरु। हुन पनि यिनै विश्वास र प्रेमको तागतले बाँचेका छन् यहाँ यावत परम्पराहरु।हाम्रा परम्परा रितिरिवाजका प्राण मानवसमुदाय नै हुन् । वास्तवमा हाम्रो देश अनमोल इन्द्रेणी संस्कृतिको संगमका रूपमा संसारभर परिचित छ। यहाँका हरेक जातिलाई आफ्नो संस्कृतिप्रति अधिक प्रेम र विश्वास छ। साँच्चिकै मानव समुदायबाट संस्कृति अलग भयो अर्थात समाजबाट संस्कृति हरायो भने सर्वस्व हराउँछ भन्ने भनाइमा सत्यता छ।
धैर्य एक अनौठो प्रवृत्ती र नित्य बानी हो, यसलाई निरन्तरको अभ्यासबाट प्राप्त गर्न सकिन्छ ।यस बर्ष महामारीका कारण केही पर्वहरु परिवारभित्र सीमित भए,टाढाका आफन्त आउन जान बन्दाबन्दीका कारण परिस्थिति प्रतिकूल बन्यो।यद्यपि शरीर रहे पर्वहरु आउने साल मनाउँला भनेर आत्मबल दर्हो बनाउने बेला हो यो।संस्कृति भनेको भावनात्मक सम्बन्ध जोगाइरहने जोडिरहने साँघु पनि रहेछ।भौतिक दुरीलाई कम गर्न मनहरु नजिक बनाइराख्ने बलियो सेतु रहेछन् रीतिरिवाजहरु।यसकारण पनि यसपटक केही सामाजिक,धार्मिक साँस्कृतिक महत्त्व बोकेका चाडहरु उदास निरस बिते। म तीजको सन्दर्भभित्र छु। यो तीजको मौसम हो।तीज पर्वको सुरुवात जसरी भएपनि,हिजोका दिनमा जसरी मनाइएपनि, तीजको परिभाषा जेजसरी गरिए पनि आज आएर धेरैजसो नेपाली महिलाहरुले तीजलाई केही हदसम्म आफू अनुकूल,समाज र समय अनुकूल बनाउँन सफल भइसकेका छन्।
खासगरी भाद्र महिनासँग नेपाली नारीहरुको छुट्टै प्रेमभाव छ।तीज पर्व लिएर आउने महिना हो भदौ। अनि महिला मात्रको एक मात्र पर्व भएकै कारण उक्त चाडलाई महत्वका साथ हेर्ने चलन छ। नेपाली नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण यो चाड भाद्र शुक्ल द्वितीयाका दिनबाट सुरु भएर पञ्चमीसम्म चार दिन मनाइन्छ। परम्परा अनुसार तीजमा भगवान शिवको पूजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन र पछिल्लो समय महिला अधिकार,विकृती,विसङ्गतिविरुद्ध चर्का सकारात्मक आवाजहरुसमेत उठान गरिने पर्वका रूपमा तीज परिष्कृत भएपनि अहिले यसो हुन सकेन। खासगरी नेपाली महिलाहरूद्वारा स्वतन्त्र र मर्यादित रूपमा मनाइने तीज पछिल्लो समय साझा पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने परिपाटीको विकास र विस्तार भएको छ। विगतमा यसको रौनकले प्रेम,शान्ति,सद्भावकोको विकास र जुन उभार छोडेर जान्थ्यो अहिले त्यो हुन सकेन।जति सुन्दरता र मौलिकता प्रस्तुत गर्थ्यो ती सबै थाँती रहे।नेपाल लगायत विदेशमा बस्ने नेपालीहरुले समेत हर्ष उल्लासका साथ भेटघाट मनोरञ्जन र शुभकामना साटासाट गरेर मनाइने तीज यस बर्ष व्यक्ति र परिवारमै सीमित रह्यो। त्यसो त समयको परिवर्तनसँगै तीज मनाउँने शैलीमा व्यापक परिवर्तन भइसक्दा यसले हरेक बर्ष सामाजिक,सांस्कृतिक ,राजनैतिक एवम् लैङ्िगक परिवर्तनका निम्ति महत्त्वपूर्ण सन्देश प्रेषण हुनेगरेको सन्दर्भमा यसपालि ती सन्देश प्रवाह हुन सकेनन् ।
तीज महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हो।आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले जसरी व्याख्या परिभाषा गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो।हिजोका दिनमा विवाहित महिलाहरूलाई पराइघरको नयाँ परिवेश, विभिन्न जिम्मेवारी, कडा बुहार्तन,सूचना र संचारको पहुँच बिनाको समय,संसार अहिले जस्तो विज्ञान प्रविधि र आमसंचारको कुनै थालनी नभएको समय जीवन पद्धति निकै जटिल थियो भन्ने अनुमान हामी सहजै गर्न सक्छौं। यस्तो बेला आफन्तहरु बीच खवर बुझ्ने माध्यम केवल भेट्घाट हुने गर्थ्यो।त्यो समय बिवाहित नारीहरुलाई माइतीको सम्झनाको ग्यापलाई कम गर्न यो पर्वको ठूलो भूमिका रहन्थ्यो।साथीभाइ इस्ट्मित्रहरुको प्रेम सद्भावको लम्बिंदै गरेको दुरी घटाउन सहयोग यी प्रकृतिका पर्वले गर्थे। सबैभन्दा सुन्दर पक्ष के छ भने,तीज मौलिक संस्कृति हो तर संस्कृति भित्रका असल र खराब पक्षहरु छुट्ट्याएर नकारात्मक पक्षहरु इन्कार गर्दै जान महिलाहरु आफ्नै चेतना र विवेकले सफल भएका छन्।
विलियम गोल्डिङले भनेका छन् ,“निल समुद्र उसैले पार गर्न सक्छ जसको जहाजको पाल धैर्यबाट बनेको हुन्छ ।“विश्वलाई कोरोना भाइरसले गाँजिरहेको समय आम मानव समुदाय उच्च विबेक प्रयोग गरि धैर्यले विजय प्राप्त गर्दैछ।
यति ठूल्ठूला महत्व र गरिमा बोकेका पर्वहरु ओझेलमा छन् । यो समय क्रुर कोरोनाका कारण कतिपयले हस्पिटल भित्र बिताउनु परेको छ,कतै आइसोलेशन,कतिले क्वारेन्टाइन होम क्वारेन्टाइनमा बिताउनु परेको छ।महामारीको कारण कतिपयले ज्यान गुमाउनु परेको दुःखद सत्यले कैयौं परिवार गहिरो दुःखमा छ।यति अग्लो दुःखको पहाड उक्लने दिन हाम्रै नजिक छ भनेर सायदै कल्पना गरेका थियौँ हामीले। यसर्थ पनि कठिन यात्रामा छौँ।यो यात्रा आफैँलाई सुनसान लाग्नु,कोलाहल बीच पनि मौनता बोलिरहनु,केही पर्खिए जस्तो लाग्नु,केही छोडिए जस्तो हुनु अस्वभाविक होइन। ताकी,हामी भयङ्कर विपत्तिसँग जुधिरहेछौँ।आत्मबल र धैर्यले जित्नुछ फेरि पनि।
आज तीजको अन्तिम दिन ऋषि पन्चमी।अघिल्ला बर्षहरुमा परम्परा अनुसार ऋषि पञ्चमीलाई महिलाहरुले विशेष रुपमा मनाइरहँदा यसको रौनक छुट्टै थियो। विगतमा गाउँ टोलमा नारीहरु व्रत बसेर, चार वेदका रचयिता सप्तऋषिको पूजाआजा गरेर हरितालिका तीजलाई बिदा गर्ने दिन।शास्त्रीय मान्यता अनुसार यस दिनको सन्दर्भ खासगरी महिलाहरुको सिर्जनाशक्ति रजस्वलासँग जोडिए पनि नारीभित्रको सिर्जनारुपि प्रजननशक्तिसँग सम्बन्धित रजस्वला संसारको अतुलनीय शक्ति हो।
आम मान्छेहरुलाई थाहा भएको कुरा हो। महिलाको रजस्वला बिना सृष्टिको अस्तित्व रहन्नं। यति पवित्र वस्तु अछुतो हुने कुरा पनि भएन । यो तथ्यगत सत्य हो। आजकै दिनसँग जोडिएको गाउँघरमा अहिले पनि औषधीका रुपमा परिचित दतिवनआयुर्वेदमा दत्तिवन (एकाइरैन्थस एस्पेरा) लाई महत्वपूर्ण जडिबुटीका रुपमा चिनिन्छ। संस्कृत भाषामा ’अपमार्ग’ र अंग्रेजीमा ’प्रिकली चाफ फ्लावर’ का नामले चिनिने यो जडिबुटी आयुर्वेद विज्ञान अनुसार हृदयरोग,रक्तविकार चर्मरोग लगायत दर्जनौ रोगको औषधीय गुण भएको जडिबुटीको प्रसङ्ग जोडिएको छ यस दिनसँग । विगत बर्षहरुमा आजकै दिन यो जडिबुटी खोज्न वारि र चिस्यानतिर खुब भिड लाग्ने गर्थ्यो तर त्यो चहल पहल कतै छैन आज।ठाउँ ठाँउमा ठूला पानीका सतहमा रमाइरमाई नुहाउँदै गरेका उज्याला मान्छेहरुको समूह कहिँ देखिँदैन।जाग्रामका रातहरु बेखवर छन् ।संगिनी र तीज गीतहरु सानो कोठाभित्र मसिनो आवाजमा रेडियो र टेलिभिजनमै सीमित छन् । यसबेला सबैको एउटै चाहना छ,महामारी छिट्टै अन्त होस् ।जीवन स्वस्थ र समृद्ध बनोस् । जीवन रहे थुप्रै पर्व र उत्सवहरु मनाउँला।आज सम्पूर्ण शक्तिले महामारी विरुद्ध विजय प्राप्त गर्नुछ।