इटहरीः कोरोना संक्रमणका कारण धनुषा र पर्सामा थप २ जनाको मृत्यु भएको छ । धनुषाकोे नगराइन नगरपालिका ७ डेवडिहाका ६५ वर्षीय पुरुषको मृत्युपछि संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपश्चात वीरगञ्ज १२ मुर्लीकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । देवडिहाका पुरुषको बिहीबार राति साढे ११ बजे मृत्यु भएको हो ।

मृतक ती वृद्धमा शुक्रबार बेलुकी कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रका अनुसार मृतक वृद्धको शव धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणबाट खटेको सेनाको टोलीले डेवडीहामा कार्यविधिअनुसार संक्रमितको शव व्यवस्थापन गरेको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बुधबार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियोे । प्रादेशिक अस्पतालमा ती पुरुषको उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिरहेको बेला बाटोमै मृत्यु भएको थियो ।

मृत्यु भएपछि पुनः प्रादेशिक अस्पतालमा ल्याई स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको अधिकृत मिश्रले बताए । मृतक पुरुष लामो समयदेखि मुटु रोग, दम लगायत मधुमेहका समेत रोगी थिए ।
यस्तै वीरगञ्जकी महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । शुक्रबार दिउँसो नारायणी अस्पतालमा भर्ना भएकी ती महिलामासंक्रमण पुष्टि भएको थियो । न्यून रक्तचापको समस्याले ग्रसित उनलाई पखालासमेत लागेको बताइएको छ । उपचारको शुक्रबार साँझ उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।