सङ्खुवासभाः जोगबनी–विराटनगर–खाँदबारी–किमाथाङ्का सडकको अब २३ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेको छ । जोगबनी–किमाथाङ्का ३ सय ९० किलोमिटरमध्ये खाँदबारीसम्म यातायात सञ्चालनमा रहेको छ । खाँदबारीबाट किमाथाङ्का १ सय ६२ किलोमिटरमध्ये २३ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको हो ।

सदरमुकाम खाँदबारीबाट भोटखोलाको दुर्गम मानिएको हटिया गाउँसम्म १ सय ३९ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । उत्तर–दक्षिण कोशी सडक योजनाले हिउँदमा सदरमुकाम खाँदबारीबाट हटियासम्म यातायातका साधन लैजान सकिने जनाएको छ ।

किमाथाङ्का जोड्ने लक्ष्यका साथ खनिएको सडकको काम तीव्र गतिमा भएको सदरमुकाम खाँदरबारीमा भएको एक कार्यक्रममा आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए । उनका अनुसार हालसम्म २ अर्ब ३९ करोड बजेटमध्ये २ अर्ब ११ करोड खर्च भइसकेको छ ।

आयोजना प्रमुख ज्ञवालीका अनुसार खाँदबारी– एकुवा–हटिया खण्डमा सडकको काम स्वच्छन्द, याक्थुम्हाङ र पुष्पाञ्जली जेभीले गरिरहेको छ । हटिया–चेपुवा खण्डमा गजुरमुखी, मोतीदान, गीताञ्जली जेभी र कञ्चनजङ्घा जेभीले तीव्र गतिमा ट्रयाक खोलिरहेका छन् ।

सिम्बुङ–हटिया खण्डको ट्रयाक खोल्ने, बरुण सिम्बुङको रेखाङ्कन विवाद, अलैंची तथा गुम्बामा देखिएको समस्या समाधान गरेर सडकको काम अघि बढाइएको उनले बताए ।

उनका अनुसार चेपुवा, छुमसुर घोङगोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्ने छ । ‘कडा चट्टान र भीर भएकाले यो १५ किमि सडक विस्फोट गरेर मात्रै अघि बढ्न सकिन्छ,’ उनले भने, ‘त्यसका लागि विस्फोटक पदार्थ खरिद गर्ने प्रक्रिया अघि बढाइसकेका छौं ।’

सकेसम्म चाँडो किमाथाङ्का सडक जोड्ने लक्ष्य हाम्रो हो,’ उनले भने, ‘यो १४ किमि विस्फोट भएपछि किमाथाङ्का जोडिन्छ ।’ किमाथाङ्का तर्फबाट पनि १४ किमि सडक निर्माण गरिसकिएको उनले बताए ।
‘बीचमा पर्ने शङ्खे भीर र महाभीरमा मात्रै ट्रयाक खोल्न सके किमाथाङ्का पुगि

न्छ,’ उनले भने, ‘तीव्र गतिमा काम गरेर यही वर्ष खाँदबारी–किमाथाङ्का जोड्ने प्रयत्नमा छौं ।’ भोटखोला गाउँपालिका–४ का मुटुक भोटे हटियासम्म सडक पुगेपछि खुसी छन् । ‘सडकले खाँदबारी र किमाथाङ्का जोडिन लाग्यो,’ उनले भने, ‘अब भोटखोलावासीका दुःखका दिन गए । छिट्टै किमाथाङ्का जोडिनेमा विश्वस्त छौं ।’

kimathanka sankhuwashawa
अहिले पनि वर्षत्को समयमा सदरमुकाम पुग्न ५ दिन हिँड्नु परिरहेको बताउँदै उनले भने, ‘यो २३ किमि सडक निर्माण भए वर्ष भरि नै सहज ढङ्गले गाडी चढ्न पाइन्छ ।’

भोटखोला गाउँपालिका–३ का वडाध्यक्ष आन्दी भोटेका अनुसार निर्माण व्यवसायीले खच्चडमा तेल, ग्याबिन र निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणमा तीव्रता दिइरहेका छन् । ‘यसरी बोकिएको सामग्री प्रयोग गरेर हुङगुङ, चेपुवा जोडिँदै छ,’ उनले भने, ‘अब एक साता लगाएर सदरमुकाम जाने दिन गए ।’ यही गतिमा सडक निर्माण भए केही महिनामा यो खण्ड पनि जोडिनेछ ।

प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले किमाथाङ्का जोडिन केही किलोमिटरमात्र बाँकी रहेकाले यही वर्षभित्रमा किमाथाङ्कासम्म गाडीमा जान सकिने बताए । उनले विस्फोटक पदार्थ खरिद गरेर भीर फुटाउने प्रक्रियाको लागि नेपाली सेनासँग छलफल भएको र करिब प्रक्रिया अन्त्यमा पुगेको बताए ।

‘यही आर्थिक वर्षभित्र खाँदबारीदेखि किमाथाङ्कासम्म गाडी गुडाउने योजना लिएर अघि बढेको छु,’ उनले भने, ‘बजेटको व्यवस्था गरेर सडक जोड्छु ।’ यो खण्डमा तीव्र गतिमा काम भइरहेको उनले बताए ।