इटहरी; राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकको घडीमा मनाइँदै गरेको बडादशैँले नेपाली समाजलाई अझ सुदृढ र एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका छन्।
विजयादशमी, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
उनले बडादशैँलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको महान् पर्वका रूपमा उल्लेख गरेका छन्। यस वर्षको दशैँ विपत्ति र शोकका बीच मनाउनुपरेको उल्लेख गर्दै उनले विभिन्न घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

लामिछानेले विपत्तिका कारण हजारौँ परिवार घरबारविहीन र विस्थापित हुनुपरेको अवस्थालाई स्मरण गर्दै यस्तो संवेदनशील परिस्थितिमा विजयादशमीले नेपाली समाजमा सकारात्मक ऊर्जा र आपसी एकताको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले नवदुर्गा भवानीसँग व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको सर्वोपरि हितमा निःस्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि तथा जस्तोसुकै सङ्कटसँग जुध्ने साहस प्रदान गर्न प्रार्थना गरेका छन्।
सत्यको विजयको सन्देश बोकेको विजयादशमीले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दै लामिछानेले सकारात्मक सोच र नयाँ आशासहित सबै नेपालीलाई बडादशैँको शुभकामना दिएका छन्।




















