इटहरीः टिकटकले आफ्नो इन्टरनेट प्रोटोकल परिवर्तन गरेपछि ‘क्यास सर्भर’को अभावमा यसका लागि सबै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग हुन थालेको छ । क्यास सर्भर कुनै पनि कन्टेन्टलाई स्थानीय रूपमै उपलब्ध गराउन राखिने सर्भर हो । जसको प्रयोगले इन्टरनेट प्रयोग केही छिटो बन्न पुग्छ । तर, लकडाउनका कारण सर्भर तथा आवश्यक अपग्रेडको काम गर्न नसक्दा टिकटले अधिक ब्यान्डविथ खपत गरिरहेको इन्टरनेट सेवा प्रदायक भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा बताउँछन् । ‘लकडाउनका कारण सर्भर र नेटवर्कमा लगानी बढाएर अन्तर्राष्ट्रिय ब्यान्डविथ घटाउने हाम्रो प्रयास भने सफल हुन सकेको छैन,’ उनले भने ।
सेवा प्रदायकका अनुसार नेपालमा सबैभन्दा बढी इन्टरनेट प्रयोग हुने समय राति ८ देखि १० बजेसम्म टिकटकले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथकै कारण ढिला चल्ने हुन थालेको छ । वल्र्डलिङ्क, सुबिसुजस्ता स्थापित इन्टरनेट सेवा प्रदायकले त टिकटकका कारण बिगे्रको इन्टरनेटको गुणस्तरमा सार्वजनिक सूचना जारी गरेर क्षमा माग्दै तत्काल यो समस्या समाधान गर्ने प्रयासमा लाग्ने जनाएका छन।
टिकटकले एचटीपीपीएस प्रोटोकलका लागि क्यास सर्भर उपलब्ध गराउन अकामाईको नेटवर्क प्रयोग गर्दै आएको छ । अचानक टिकटकले गरेको प्रोटोकल परिवर्तनले टिकटकसहित अकामाईसँग पनि सहकार्य गर्नुपर्ने बाध्यता सेवा प्रदायकलाई छ । छोटो भिडियो अपलोड गर्ने माध्यमका रूपमा विश्वभर छोटै समयमा स्थापित टिकटक यतिबेला अमेरिका र भारतको निशानामा छ । अमेरिकाले टिकटकको सुरक्षा कारण बताउँदै अमेरिकी लगानीकर्तालाई सेयर बिक्री नगरे बन्द गर्ने चेतावनी दिइसकेको छ ।

भारतले पनि चिनियाँ एपले महत्त्वपूर्ण डेटा चोरी गर्नसक्ने आरोप लगाउँदै टिकटकसहित अहिलेसम्म करिब २ सय एप्सलाई प्रतिबन्ध लगाइसकेको छ । टिकटकका लागि २ महत्त्वपूर्ण बजारले नै सुरक्षा चेतावनी दिएपछि कम्पनीले १ महिनाअघि आफ्नो सुरक्षा प्रोटोकल परिवर्तन गरेको हो । गोरखापत्रबाट