दुहबीः मोरङको ग्रामथान –४ मा रहेको हनुमान आराधना मण्डल मोरङको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

समितिको अध्यक्षमा पुलिस विश्वास, उपाध्यक्षमा कुमारप्रसाद घिमिरे, महिला उपाध्यक्षमा फूलकुमारी चौधरी, सचिवमा ईश्वर सरदार, सह सचिवमा नेहा चौधरी, कोषाध्यक्षमा भवानीदेवी सरदार रहेका छन ।

यसैगरी, सदस्यमा निरञ्जन सरदार, बैताल भगतलगायत रहेका छन् । ४ जना केन्द्रीय प्रतिनिधि र ८ जना १ नम्बर प्रदेश धर्म सांसद समेत चयन गरेको बताइएको छ ।

कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष रामनारायण ठाकुर र हिन्दू स्वयंसेवक सङ्घ नेपालका राष्ट्रिय प्रचारक वेदप्रकाशले अहिले चारैतिरबाट सनातन हिन्दू धर्ममाथि प्रहार भइरहेको बताए ।

हिन्दू धर्म रक्षाको लागि युवा लाग्नुपर्ने र यसका लागि सम्पूर्ण हिन्दू एकजुट भएर संस्थाको विकासका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा सुनसरी, सप्तरी, सिरहा, धनुषालगायत विभिन्न जिल्लाबाट आएका हनुमान आराधना मण्डलका अध्यक्ष, सदस्य, सन्त समाज लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नवगठित समिति सदस्य विश्वासले हिन्दू धर्म रक्षाको लागि मोरङमा माहायज्ञ गरिने बताए । जिल्ला समन्वय समिति मोरङका सदस्य समेत रहेका विश्वासले मोरङमा १०० फिटको हनुमानको प्रतिमा स्थापना गर्ने योजना रहेको जनाए । कार्यक्रमका प्रमुख १ नम्बर प्रदेश सभा सदस्य चुमनारायण तवदारले हिन्दू धर्म रक्षाको लागि सबै मिलेर लाग्नुपर्ने बताउँदै १०० फिटको हनुमानको प्रतिमाको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।