इटहरीः पूर्वाञ्चलको प्रमुख व्यापारिक तथा आकर्षक सहर इटहरीमा आज नेपालको चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले विशेष सांगीतिक प्रस्तुति दिने भएको छ। पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा इटहरी रंगशालामा हुन लागेको ‘नेपथ्य इन कन्सर्ट २०२६’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
कन्सर्टका लागि मञ्च व्यवस्थापन, ध्वनि प्रणाली, सुरक्षा तथा अन्य आवश्यक तयारी पूरा भइसकेको पूर्वाञ्चल इभेन्ट्स प्रालिका अध्यक्ष कुलबहादुर (राजकुमार) कार्कीले जानकारी दिए। उनका अनुसार कार्यक्रमका लागि टिकट बिक्री जारी छ भने कन्सर्टमा सहभागी हुन इटहरीसहित कोशी प्रदेशका विभिन्न जिल्लाबाट दर्शक आउने अपेक्षा गरिएको छ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङसहितको टोलीलाई आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधारमन्त्री जीवन आचार्य तथा अन्य मन्त्री एवं प्रदेश सरकारका प्रतिनिधिहरूले भेटेर स्वागत तथा भलाकुसारी गरेका छन्।

आज साँझ ६ बजेदेखि सुरु हुने कन्सर्टमा अमृत गुरुङका लोकप्रिय गीतमा दर्शक झुम्नेछन्। कात्तिकको चिसिँदो मौसममा नेपथ्यको संगीतले इटहरीको वातावरणलाई सांगीतिक उत्साहले तताउने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन इलाका प्रहरी कार्यालय इटहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। त्यस्तै, कार्यक्रमस्थलमा स्वयंसेवकहरू पनि परिचालन गरिनेछन्।
यसैबीच, नेपथ्यका गायक अमृत गुरुङले आगामी दिनमा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रमलाई सीमित गर्ने संकेत दिएको चर्चा पनि छ। यद्यपि, आगामी कन्सर्टबारे औपचारिक घोषणा नभएकाले इटहरीको यो प्रस्तुति नेपथ्यको अन्तिम कन्सर्ट हुने वा नहुने विषय भने स्पष्ट भइसकेको छैन।
लामो समयदेखि नेपाली संगीतप्रेमीको मनमा बस्न सफल नेपथ्यको प्रस्तुति हेर्न इटहरी र आसपासका क्षेत्रका दर्शक उत्साहित छन्। आजको साँझ इटहरी रंगशाला संगीत, मनोरञ्जन र सांस्कृतिक उत्सवको केन्द्र बन्ने अपेक्षा गरिएको छ।




















