विराटनगरः प्रदेश १ को स्थायी राजधानीको टुङ्गो लगाउँदा विराटनगर स्थायी राजधानी हुनुपर्ने पक्ष अल्पमतमा पर्ने भएको छ । दुई तिहाइ बढी संसदीय मत भएको नेकपाका अधिकांश सांसद विराटनगर राजधानी हुनुपर्ने मान्यताको विपक्षमा भएकाले यस्तो हुने भएको हो ।
यही असोज १५ र १६ गते नेकपा संसदीय दलको बैठकले स्थायी राजधानीको निचोड निकाल्ने प्रदेश सांसदहरूले बताएका छन् । विराटनगरलाई स्थायी राजधानी मान्न ६७ जना सांसद भएको नेकपाका अधिकांश सांसदहरू विपक्षमा छन् ।
नेकपाका ६७ जना सांसदहरूमा ५८ जना सांसद विराटनगर बाहिर राजधानी हुनुपर्ने पक्षमा भएको एक प्रदेश सांसदले बताए । प्रदेश गृहमन्त्री हिक्मत कार्कीको जिल्लाका ती सांसदले नाम नछाप्ने शर्तमा भने, ‘विराटनगर स्थायी राजधानी हुन सक्दैन । यो धेरै कोणमा अनुपयुक्त छ ।’
भौगौलिक रूपमा अपायक र सामरिक रूपमा अनुपयुक्त भएकाले विराटनगरमा राजधानी राख्न योग्य नहुने सुनसरीका एक सांसद बताउँछन् । विराटनगर बाहिर राजधानी हुनुपर्ने अभियानमा रहेका ती सांसले नाम नलेख्ने शर्तमा भने, ‘राजधानी बरु सुनसरी हुन सक्छ वा धनकुटा उचित छ । विराटनगर अनुपयुक्त छ ।’
विराटनगर, इटहरी हुँदै धरानसम्मको करिडोरलाई राजधानी बनाउने कुरामा भने सांसदहरू लचिलो देखिएका छन् । संसद भवन र केही मन्त्रालय विराटनगर बाहिर हुनुपर्ने उनीहरूको तर्क छ । पार्टीले जबरजस्त विराटनगरमै स्थायी राजधानी तोक्ने विषयमा भने सांसदहरूले ह्वीप नमान्ने बताएका छन् ।
प्रदेशको स्थायी राजधानी बन्न विराटनगर अनुपयुक्त भन्ने सांसदहरूले केही महिना अगाडि विराटनगरमै संसद भवन बनाउन बजेट विनियोजन गरेको कुराको विरोध गरेका थिए । बहुमत सांसदको हस्ताक्षर सङ्कलन अभियान चलाएर राजधानीको टुङ्गो नलगाएसम्म संसद भवनको बजेट विराटनगरमा लगाउने विषय विफल बनाएका थिए ।
विराटनगर राजधानी बन्नु हँुदैन भन्ने बहुमत सांसदहरूले केही हप्ता अगाडि एउटा भेला गरेर पार्टीले जबरजस्त ह्वीप जारी गरे पनि नमान्ने बताएका थिए ।
स्थायी राजधानी बनाउन विज्ञ समूहलाई प्रतिवेदन बनाउन लगाएर गोप्य र स्वतन्त्र संसदीय मतदान हुनुपर्ने सांसदहरूको भनाइ छ । गोप्य मतदान हुँदा दुई तिहाइ सांसदहरू विराटनगरको विपक्षमा हुने सत्तारुढ सांसदहरूको तर्क छ । हाल प्रदेश १ को स्थायी राजधानी विराटनगर हुनुपर्छ भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका पनि धेरै सांसदहरूले विराटनगरको विपक्षमा मत हाल्ने सांसदहरूको भनाइ छ ।
बहुमत मन्त्री विराटनगरको पक्षमा, बहुमत सांसद विराटनगरको विपक्षमा
प्रदेश १ को स्थायी राजधानी बनाउने कुरामा सांसदहरूको बहुमत सङ्ख्या विराटनगरको विपक्षमा छ । ६७ सांसदहरूमा ५८ जना सांसद विराटनगर स्थायी राजधानी बन्न नहुने पक्षमा रहेको सांसदहरूको भनाइ छ ।
तर, बहुमत मन्त्रीहरू विराटनगरको पक्षमा छन् । प्रदेश १ को ५ सदस्यीय प्रदेश मन्त्रिमण्डलका मन्त्रीहरू हिक्मत कार्की, इन्द्र आङ्बो जीवन घिमिरे र जगदीशप्रसाद कुसियतले खुलेरै विराटनगर नै स्थायी राजधानी हुनुपर्ने पक्षमा लबिङ गरिरहेका छन् ।
मुख्यमन्त्री शेरधन राई भने विराटनगर मात्रै होइन बृहत्तर विराटनगरलाई आधार बनाएर विराटनगर, इटहरी हुँदै धरानसम्मलाई राजधानी करिडोर बनाउने पक्षमा छन् । उनले अघिल्लो साता इटहरीमा एक मल्टिप्लेक्सको उद्घाटन गर्दा पनि यही कुरा बताएका थिए ।