इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शान्ति चोकमा रहेको द स्टन होटलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ४ लाख ५६ हजार १८० रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय इटहरीले विशेष सूचनाका आधारमा आइतबार साँझ करिब ५ बजे होटलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। वडा प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले केही बेरअघि प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीबारे जानकारी दिएका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय मनोज घिमिरे र ४९ वर्षीय युवराज मगर, इटहरी–८ का ४२ वर्षीय मनोज राई र ५२ वर्षीय ईश्वर कार्की, इटहरी–४ का ४० वर्षीय टीकाराम गेलाल, ४० वर्षीय जीवन अधिकारी, ४३ वर्षीय दुर्गाप्रसाद थापा तथा ४२ वर्षीय खगेन्द्र लिम्बू रहेको जनाइएको छ।
प्रहरीले उनीहरूलाई नगद रकम र ताससहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान अघि बढाएको छ। उनीहरूको स्वास्थ्य परीक्षण (मेडिकल)गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बुझिएको छ।

पक्राउबारे सूचना दिन ढिलाइ
घटनामा प्रहरीले साँझ करिब ५ बजे नै व्यक्तिहरूलाई नियन्त्रणमा लिए पनि अबेरसम्म आधिकारिक जानकारी सार्वजनिक नगरेको विषयले प्रश्न उठाएको छ। घटनाबारे जानकारी लिन खोज्दा इटहरी प्रहरी तथा अन्य स्रोतबाट पक्राउ परेका व्यक्तिहरूको विवरण तत्काल प्राप्त हुन नसकेको जनाइएको छ।
पछि जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी खड्काले प्रेस विज्ञप्तिमार्फत घटनाको विवरण सार्वजनिक गरेका हुन्।
जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।




















