इटहरीः १० दिनअघि हत्या गरिएका खुर्शीद आलम अन्सारीको परिवारलाई गृहमन्त्री रामबहादुर थापाले १० लाख रुपैयाँको चेक प्रदान गरेका छन् ।
खुर्शीदको परिवारलाई भेट्न हरिनगर आएका बादलले खुर्शीदकी श्रीमती खोदिजा बेगमलाई सो रकम बराबरको चेक प्रदान गरेका हुन् । चेक प्रदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै बादलले मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भीर भएको बताए । घटनाको सम्बन्धमा छानबिन भइरहेको र चाँडै नै हत्यारालाई पक्रेर कानुनअनुसार कारवाही गर्ने गृहमन्त्रीले सो अवसरमा बताए ।
हत्या गरिएका खुर्शीदलाई सरकारले शहीद प्रमाणित गरेको पत्र पनि सो अवसरमा बादलले खुर्शीदको परिवारलाई प्रदान गरे । चलानी नम्बर ६६९ को सो पत्रमा मन्त्रिपरिषद्को गत असोज ५ गतेको निर्णयअनुसार शहीद घोषणा गरिएको उल्लेख छ । पत्रमा गृह मन्त्रालयका शाखा अधिकृत रामप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा उपस्थित प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको सम्पूर्ण सुरक्षा संयन्त्र घटनाको अनुसन्धानमा लागिरहेको बताए । कार्यक्रममा प्रदेश नम्बर १ का सबै मन्त्री तथा सशस्त्र प्रहरी र जनपद प्रहरीका आइजीपी पनि उपस्थित थिए ।