इलामः इलाम सूर्योदय नगरपालिका–१० की चिया कृषक साधना फागो भन्छिन,“आन्दोलन गरेरै समय जाने रहेछ । अब त हैरान भइसक्यो ।” उनका अनुसार किसानको चियाको लागत मात्रै प्रतिकिलो ३८ रुपैयाँ पर्छ तर प्रतिकिलो २० देखि ३० रुपैयाँमा चिया बेच्नु परेको छ । मूल्यकै लागि असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसानमा उत्रिएका हुन् ।

तर, आन्दोलन गरेको लामो समय भइसक्दापनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम् प्रति किलो ४० रुपैयाँ दिनु पर्ने प्रावधान स्थानीय सरकार(सूर्योदय नगरपालिका)ले बनाएको छ । तर, मापदण्डको धज्जी उडाउँदै कतिपय उद्योगीले हरियो चियापत्तीको मूल्य २० देखि ३० रुपैयाँको अनुपातमा दिँदै आएका छन् । मापदण्डअनुसार चियाको मूल्य दिन किसानले उद्योगीलाई अनुरोध गरेका छन् । यति मात्र नभइ सूर्योदय नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत किसानले ध्यानाकर्षण गराएका छन् ।

तर, पनि उद्योगीले मूल्य दिनेमा कुनै चासो दिएका छैनन । उद्योगीले यतिसम्म किसानमाथि शोषण गरेका छन् । पहिले ‘पेश्की’भन्दै किसानलाई रकम दिने पछि त्यति हो चियाको मूल्य भन्दै पन्छिने समेत गरेको किसानको गुनासो छ । यसै कारण किसान उद्योगीसँग आजित भएका छन् । कानूनमा तोकिएकै मूल्य नपाउँदा किसान अलमल्ल छन् भने उद्योगीले आफूहरूको गुनासो नसुनेकोमा दुखित छन् । सूर्योदय नगरको कार्यविधि अनुसार किसानले ल्याउने चियामा ४० प्रतिशत न्यूनतम् नरमपात भएको हुनुपर्ने छ भने किसानले ल्याएको सोही मापदण्डको चियालाई प्रतिकिलो रु ४०९न्यूनतम०मा उद्योगीले किन्नुपर्ने प्रावधान छ । किसानले नगरको मापदण्डअनुसारको चिया नल्याएकाले ४० रुपैयाँ प्रति किलो मूल्य दिन नसकिएको उद्योगीको तर्क छ । तर, सूर्योदय नगरपालिका १० का संयोजक एवं सूर्योदय चिया सचिवालयका सदस्य सोनाम छिरिङ काजीले भने किसानले मापदण्ड अनुसारकै चिया ल्याउने गरेको बताउनुहुन्छ ।

“उद्योगीले किसानलाई कम मूल्य दिनका लागि यसो भनेको हो” काजीले भने,“उद्योगीले किसानको विषयलाई गम्भीर रूपमै लिँदैनन् । हाम्रो त बोली हो जस्तै ठान्दैैनन् ।” काजीका अुनसार यही समस्या सुल्झाउनका लागि किसान नगरपालिकादेखि जिल्ला प्रशासन कार्यालय समेत धाइसकेका छन् । काजीले आफूहरू आन्दोलनबाट हैरान भएको दुखेसो पोखे । “किसानको चियाले उद्योगी धनी भएका हुन् । यदि सक्छन् भने तोकिएको मूल्य दिउन ।

सक्दैनन्, चिया नै फिर्ता देउ भनेका छौं ।” पहिले तोकिएको मूल्य दिने भन्ने अनि व्यावहारमा परिणत नगर्ने भएकाले समस्या बढेको काजीको भनाइ छ । सूर्योदय नगरपालिकाका चिया उद्योगीले नगरको मापदण्ड नै कार्यान्वयन नगरेर कानून विरुद्ध गइरहेका छन् । तर, नगरले यस बारेमा उद्योगीलाई केही गर्न नसकेको उद्योगीको भनाइ छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले भने चियाको समस्या सुल्झाउन आफू प्रतिवद्ध रहेको बताए ।

“नगरपालिका किसानको पक्षमा रहेकाले जसरी भए पनि न्युनतम मूल्य किसानलाई उद्योगीहरुबाट उपलब्ध गराउने प्रतिबद्धता गर्छु”, नगरप्रमुख राईले भने, “किसानलाई हतोत्साहित नहुन आग्रह गरे ।”