इटहरी : शरीर अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी पश्चात् प्रहरीको खोजीमा रहेका इनरुवा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सुमन थापा पक्राउ परेका छन् । कार्यवाहकको जिम्मेवारी सदस्यलाई सुम्पिएर लामो समययता फरार रहँदै आएका थापालाई शनिवार राती इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो ।  थापाका आफन्त र उनी लुकेर बस्न सक्ने सम्भावित स्थानमा प्रहरीले निगरानी बढाएको थियो । यता थापा पक्राउ परेको विषयमा भने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले भने थापा आफै प्रहरी सम्पर्कमा आएको दाबी गरे ।  थेबेले अब कानुन बमोजिमको प्रक्रिया अघि बढ्ने समेत बताए । 

बदलिएको राजनीतिक घटनाक्रम र प्रहरीको ताकेता पश्चात् लामो समय प्रहरीलाई छलेर बस्दै आएका वडा अध्यक्ष थापा अन्ततः कानुनी फन्दामा परेका छन् ।  २०८१ साल फागुन २२ गते साँझ चतराबाट कान्छी चोकतर्फ आउँदै गर्दा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र. १–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलको पछाडि सवार रहेकी देवीका खनाल गम्भीर घाइते भएकी थिइन। 

विभिन्न अस्पतालमा उपचार गरी डिस्चार्ज भएकी उनी अशक्त अवस्थामा छिन। त्यसपछि पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेपछि उच्च अदालतले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दिएपछि थापा विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको थियो । गत साउन १६ गते मुद्दा दर्ता भई साउन २० गते थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

वडाध्यक्ष थापा भदै ८ गतेसम्म कार्यालयको कामकाज गरी ९ गतेदेखि वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर सम्पर्क विहीन रहँदै आएका थिए । थापाले घाइतेको उपचार गरेको र सो क्रमलाई निरन्तरतामा राखेको बताउँदै आएका थिए । यद्यपि घाइते पक्ष्यले भने थापाले राजनीतिक पहुँचमा केसलाई डिसमिस पार्ने काम गरेको आरोप लगाउँदै बिरामीको अवस्था जटिल बन्दै जाँदा समेत बेवास्ता गरेको भन्दै कानुन बमोजिम कारबाहीको माग गर्दै दबाब सृजना गरिएको थियो । 

यता सुनसरी जिल्ला अदालतले थापा विरुद्ध ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको छ । सुनसरी जिल्ला अदालत इनरूवाका श्रेस्तेदार टिकेन्द्रवीर जंग राणाले सवारी अंगभंग मुद्दामा अनुसन्धानका लागि सात दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको जनाएका छन ।