विराटनगरः नेकपाको प्रदेश नम्बर १ को संसदीय दलको बैठक कुनै ठोस निर्णय बिना टुङ्गिएको छ । विराटनगर–८ स्थित फुड एण्ड फन पार्कमा आज बसेको बैठकले कुनै निष्कर्ष ननिकालेको प्रमुख सचेतक बुद्धिकर्ण राजभण्डारीले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा मुख्यमन्त्री शेरधन राई र प्रदेश पार्टी इन्चार्ज भीम आचार्यले सम्बोधन गरेका थिए । दुुवै नेताले पार्टीको रणनीतिका बारेमा विचार प्रस्तुत गर्दै प्रदेश कमिटी एक ढिक्का भएर विकासको बाटोमा लग्नुपर्ने धारणा राखेका थिए । मन्त्री राईले सांसदको जिम्मेवारी र पद बाँडफाँडबारे धारणा राखेका थिए ।
आजको बैठकमा उदयपुरका सांसद सुनिता चौधरी र इलामका सांसद राम रानाले धारणा राखेका थिए । दुुवैको विचार प्रदेशको नाम सगरमाथा राख्नुपर्छ भन्नेसँग मेल खाएको थियो भने राजधानीबारे प्रष्ट विचार प्रस्तुत गरेनन् । उनीहरूले प्रदेशभरका जनतालाई पायक हुने गरी राजधानी राख्नुपर्ने राय दिए ।
प्रमुख सचेतक राजभण्डारीले भोलिको बैठक बिहान ८ बजे बस्ने जानकारी दिए ।