विराटनगर / मोरङका विभिन्न खोलामा अझै अवैध उत्खननले प्रश्रय पाइरहेको भेटिएको छ । मोरङका खदम, चिसाङ, लोहन्द्रा, गछियालगायतका खोलामा अन्धाधुुन्ध गिटीबालुवा झिक्ने काम जारी रहेको छ ।
मंगलबार मोरङको खदम खोलामा अवैध रूपमा गिटी बालुवा झिकिरहेका ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीको सहयोगमा नेपाल प्रहरीले २ स्काभेटर २ हाइबा र ५ टिफरलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब निरीक्षक दीपक यादवले दिएको जानकारीअनुसार ती सवारी साधनले अन्धाधुन्ध रूपमा बालुवा झिकिरहेका थिए । मंगलबार साँझ पक्राउ गरिएका ती सवारी साधन कसका हुन् भन्ने पत्ता लागेको छैन । को १ ख १६२४ र को १ ख १७८७ नम्बरका दुुइ ठुला जेसिबी लोडरले खोलामा १५ मिटरसम्म गहिरो बनाएर बालुवा झिकेको प्रहरीको भनाइ छ । त्यस्तै को १ ख ५५५१, को १ ख ५१८१ का १० चक्के ठूला हाइबा रहेका छन् । त्यसैगरी ना ७ ख २६२७, ना ६ ख ६०५६, को १ ख ४६९८, को १ ख ५३२९ र ना ७ ख ६०० नम्बरका ट्रिफर नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि पनि केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीले सञ्चालन गर्ने क्रसर उद्योगमा यस्तो अवैध गिटी तथा बालुवा पुुग्ने गरेको स्थानीयले जानकारी दिएका छन् । आफँैले नियमन गर्नुुपर्ने भए पनि स्थानीय सरकारको प्रमुख भएको व्यक्तिकै क्रसर सञ्चालन भएको हुँदा अवैध उत्खननले प्रश्रय पाएको गाउँलेको भनाइ छ ।
गाउँ नै जोखिममा पर्ने गरी चुुरे क्षेत्रका खोलामा यसरी मनपरी ढंगले गिटी बालुवा उत्खनन भए पनि स्थानीय सरकार चुुप लागेको भन्दै स्थानीय रुष्ट बनेका छन् । उनीहरूले खोलाको प्राकृतिक धार परिवर्तन गराएको र उब्जाउशील जमिन तथा बस्ती जोखिममा परेको भन्दै यस्ता अवैध क्रसर उद्योगलाइ बन्द गराउन माग गर्दै आएका छन् । केराबारी–१० मा रहेको खोलामा यस अघि पनि पटकपटक कानुन विपरीत ठेकेदार तथा बाह्य पक्षले बालुवा तथा गिटी उत्खनन गर्ने गरेको स्थानीयले बताउँदै आएका थिए ।
मंगलबार स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली सो स्थानमा पुुगेको थियो । खदम खोलामा ठेक्का रोक्का भएको अवस्थामा खोलाको बीच भागबाट अन्धाधुुन्ध बालुवा झिकिरहेको पाइएपछि स्थानीयको सहयोगमा चारैतिरबाट घेरा हाली सवारी साधन नियन्त्रणमा लिइएको यादवले जानकारी दिए । उनले भने, ‘हामीले दिउँसो ४ बजेदेखि स्काभेटर र टिफर नियन्त्रणमा लिएका छौं । कारवाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा जिम्मा दिन्छाँै ।’
यता, बेलबारी प्रहरीले चिसाङ खोलामा अवैध रूपमा गिटी बालुवा झिकिरहेका १० ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । सोमबार र मंगलबार प्रहरीले नियन्त्रणमा लिएका ती सवारीले कानुनविपरीत नदीजन्य पदार्थको उत्खनन गरेका हुन् ।
त्यस्तै, गछिया खोलाबाट समेत अवैध रूपमा बालुवा निकालिरहेका विभिन्न सवारीलाई गछिया प्रहरीले नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुुझाएको जानकारी दिएको छ । यसरी मोरङका विभिन्न खोलामा ठेक्का बन्द रहेको अवस्थामा व्यवसायीले मनोमानी गरिरहेको पाइएको छ ।
नदीजन्य पदार्थको उत्खननले भूुक्षयीकरण बढेको भन्दै प्रदेश एकको संसदमा अवैध उत्खननलाइ तुरुन्त रोक्नुुपर्ने आवाज उठिरहेको छ । प्रदेश एकको सरकारले प्रदेश भित्र सञ्चालनमा रहेका करिब ५ सय क्रसर उद्योगमध्ये झण्डै ६० वटा मात्र कानुनबमोजिम मापदण्डमा रहेर सञ्चालनमा आएको जानकारी दिएको छ भने अन्यलाई तुरुन्त रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर अझै अवैध उत्खननको कार्य रोकिएको छैन ।


...........