इटहरीः कोरोना संक्रमणका कारण नेपाल सरकारले गत वर्षको चैत्र ११ गतेबाट लागू गरेको लकडाउन र त्यसपछिको निषेधाज्ञाले सम्पुर्ण क्षेत्रलाई नमजाले पिरोलेको छ । कोरोना महामारीले सबैभन्दा बढी प्रभाव होटल तथा पर्यटन व्यवसायमा परेको छ । अहिले प्रदेश १ का अधिकांश जिल्लाहरुमा लकडाउन र निषेधाज्ञा हटे पनि होटल तथा पर्यटन व्यवसाय सञ्चालन हुन सकेका छैन् । सरकारले असोज १ गतेबाट व्यवसाय सञ्चालन गर्न निर्देशन गरे पनि अझै खुलेका छैनन् । यतिबेला व्यवसायीहरु होटल सिंघार्नमा नै व्यस्त छन् । त्यो सँगै व्यवसायीलाई ६ महिनाको घर भाडा र बैँकको ऋणले झस्काएको छ । यो अवस्थामा होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने र व्यवसाय सञ्चालनाको लागि सरकारले स्पष्ट नीति सहित रहतका ‘प्याकेज’ घोषणा गर्नुपर्ने प्रदेश १ का व्यवसायीले माग गरेका छन् ।

होटल एसोसिएसन इटहरीका अध्यक्ष जीवन पराजुलीले कोरोना महामारील पर्यटन र होटल व्यवसायलाई लथालिङ् पारेको बताउँछन् । उनका अनुसार भूकम्पले भन्दा पनि कोरोना महामारीले व्यवसाय जोखिममा परेको छ । ‘विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढि पर्यटन तथा होटल व्यवसायलाई प्रभाव पारेको छ । यो महामारीले भूकम्पको बेलामा भन्दा पनि नमजाले प्रभाव पारेको छ’, उनले भने । उनका अनुसार सरकारले स्पष्ट नीति नबनाउँदा यो व्यवसाय नै धारासायि बनेको छ । ‘सरकारले हामीलाई केहि राहतको व्यवस्था गछौँ त भन्यो तर त्यो कुरा अहिलेसम्म कार्यन्वयन स्तरमा आउन सकेको छैन । यसले व्यवसायीहरु यो क्षेत्र नै छोडेर पलायन हुन अवस्था आउन थालेको छ ।

सरकारले बैंक तथा वित्तिय संस्थाको ऋणमा छुट दिने घोषण गरे पनि त्यो पर्याप्त नभएको अध्यक्ष पराजुलीले बताए । ‘सरकारले अहिले हामीलाई बैंकको व्याजदर ५ प्रतिशतमा झर्छौँ भनेको छ । तर हाम्रो माग बैंकको ऋण पुरै छुट हुनुपर्छ भन्ने हो’, उनले भने । साथै उनले स्थानीय तहले केहि छुटको घोषणा गरे पनि त्यो देखावटि मात्रै भएको बताएका छन् । ‘इटहरी उपमहानगरपालिकाले व्यवसायीक करमा २० प्रतिशत कम गर्ने भनेको छ । तर उपमहानगरले हामीसँग यो भन्दा अगाडि मनपरि तवरले चर्को कर तिराएको छ । यसरी हामीले तिरेको कर र सरकारले दिएको छुट आलो घाउम नुन छर्कनु सरह भएको छ’, अध्यक्ष पराजुलिले भने । साथै जनमानसमा होटल तथा पर्यटन क्षेत्रबाट कोरोना सर्ने खतरा अधिक रहेको गलत धारण रहेकाले पनि यसमा प्रभाव परेको बताए ।

 होटल तथा पर्यटन व्यवसाय सेवा व्यवसाय भएकाले यसलाई अझ बढी प्रभाव भएको विराट एसोसिएसन अफ ट्रावल एजेन्टका अध्यक्ष फणिन्द्र कटुवालले बताए । ‘मानिसहरु तत्काल घुम्ने खाने भन्दा पनि आफ्ना अतिआवश्यक क्षेत्रमा मात्रै केन्द्रित हुने भएकाले यो क्षेत्र झन् धारासायि बन्ने देखिन्छ’, उनले भने । अरु देशमा जनस्वास्थ्यका उपकरण प्रयोग गरेर र उच्च स्वास्थ्य सुरक्षा अपनाएर होटल तथा अन्तरीक पर्यटन सञ्चालनको लागि अनुमति दिएकाले नेपालमा पनि त्यहि व्यवस्था हुनुपर्ने कटुवालको भनाइ छ । उनले नेपाल सरकारले २५ जना भन्दा बढीलाई एकै ठाउँमा बस्न नदिए भएकाले यसलाई केहि खुकुलो बनाउन माग गरे । ‘नेपाल सरकारले कुनै पनि व्यवसाय सञ्चालन गर्दा २५ जना भन्दा बढि मानिसहरुलाई एकैपटक भेला नहुन भनेको छ तर यो गलत हो । मेरो विचारमा अहिले तत्काल वाह्य पर्यटक नआउने भएकाले आन्तरीक पर्यटनलाई चलायमान बनाउनुपर्छ । यसले हामी सबैलाई फाइदा पुग्छ’, उनले भने ।

साथै उनले यो क्षेत्रलाई उकास्न सरकारले उदारवादि नीति लिनुपर्ने बताए । ‘अब पर्यटन र होटल व्यवसायलाई तर्याउन नेपाल सरकारले विना ब्याजमा ऋण दिनुपर्छ । यसले व्यवसायीलाई कर्मचारीको तलब वितरणमा सहयोग पुग्छ । साथै सरकारले १ देखि २ वर्षसम्म बैंकको ब्याज पनि मिनाहा गर्नुपर्छ अनि मात्र यो क्षेत्रलाई राहत मिल्छ’, उनले भने । अरु क्षेत्रमा जस्तै यो व्यवसायलाई पनि सरकारले सहुलियत र अनुदान दिनुपर्ने उनको भनाई छ ।

होटल तथा पर्यटन व्यवसायमा मुख्य समस्या भनको ग्राहकको अभाव रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ पर्यटन समुहका बरिष्ठ उपाध्यक्ष भविष श्रेष्ठले बताए । ‘अहिले मानिसहरुलाई होटलमा गयो भने कोरोना सर्छ भन्ने डर छ । त्यस्तै कतै घुम्न जाने कुरामा पनि मानिसहरु डराएका छन् । यहाँ सरकारको नीतिगत अभावसँगै ग्राहकको अभावले पनि यो क्षेत्र प्रभावित वनेको छ’, श्रेष्ठले भने । यो सँगै बैंकको ऋण, घर भाडा र कर्मचारी व्यवस्थापन पनि यो क्षेत्रको अर्को समस्या भएको उनको भनाइ छ ।

 ‘६ महिनासम्म कुनै कारोबार नहुँदा हामी समस्यामा परेका छौँ । हामीलाई एकातिर बैंकको ऋणले पिरोलेको छ भने अर्को तिर घर भाडा पनि आकाशीएको छ । यो अवस्था सबै कुरा एकै पटक पुरा गर्नुपरे हामी मारमा पर्छौँ’, श्रेष्ठले भने । साथै उनले अब होटल र पर्यटन व्यवसायलाई विना रोकावट चल्न दिनुको विकल्प नभएको बताएका छन् ।