इटहरीः जिउमा डोरीले बाँधिएर तारमा झुण्डिँदै भिरालोमा झर्ने खेल ‘फ्लाइङ फक्स’ को पहिलो पटक मज्जा लिन असोज १४ गते अपराह्न पुगेका इटहरीका युवा जीबी गजल पानीले रोकिए ।
पानीले रोकिएपछि साँझमा पुगेका गजलले भीडका कारण टिकट लिन पाएनन् । टिकट लिनै लाग्दा फेरि पानी प¥यो र फर्किए । आयोजकले एक दिन खेलको अवधि थपेको भए पनि अन्य महत्वपूर्ण कामले अन्तिम दिन फ्लाइङ गर्न नपाएका गजल निराश भए ।
इटहरीकै युवा प्रमोद भट्टराईको अवस्था पनि गजलको जस्तै भयो । सोमबार बेलुका ५ बज्न लाग्दा फ्लाइङ फक्स हुने ठाउँ धरान–२० को सर्दू किनारमा उनी पुगे ।
ओशो आश्रम मास्तिर हुने फ्लाइङ फक्स गर्न गएका भट्टराईले पनि भीडकै कारण पालो पाएनन् । ‘आज अन्तिम दिनको अन्तिम पलमा आउँदा गर्न पाइएला भनेको यहाँ त आज पनि भीड देखियो’, साँझ ७ बजेसम्म कुर्दा पनि पालो नआएर निराश भएर घर फर्केका भट्टराईले भने, ‘४ दिन मात्रै खेलाइएकाले हामीलाई समस्या भयो ।’
सेवाग्राही मात्रै होइन सेवाप्रदायक पनि छोटो समयमा सबैलाई समेट्न नसकेकोमा दुःखित भएको बताउँछन् । फ्लाइङ फक्सको सबै प्राविधिक पक्ष हेरेका युवा अमितप्रसाद आचार्यले मौसमले दुःख दिँदा समस्या भएको बताए । उनले भने, ‘फ्लाइङ गर्ने युवा, गराउने प्राविधिक अनुकूल हुँदा पनि मौसल प्रतिकूल भएर समस्यामा पा¥यो ।’
१३ र १४ गते लगातार परेको पानीले धेरै असर गरेको आचार्यले बताए । उनले भने, ‘धरानदेखि इटहरी हुँदै विराटनगरसम्मका मान्छे आउनुभयो । तर सबैलाई हामीले मौसमको कारणले दिनभर सेवा दिन सकेनौँ ।’ बिहान ७ बजेपछि साँझ ७ बजे सम्म पनि सेवा दिन तयार भए पनि मौसमले समस्या गरेर धेरै वञ्चित भएको आचार्यले बताए ।
अब स्थायी संरचना बनाउन हामी लाग्छौँः आयोजक
धरानमा पहिलो पटक फ्लाइङ फक्सको आयोजना गरेको वातावरण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले अब स्थायी संरचना बनाउने बताए । ४ दिनको परीक्षणले स्थानीयसँगै धरानवासीलाई फाइदा हुने बताउँदै श्रेष्ठले वडा नम्बर २० देखि १३ सम्म सञ्चालन गरिएको यो खेलको स्थायी संरचना बनाउने विषयमा स्थानीय सरकार र सरोकारवालासँग छलफल गर्ने बताए ।
‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले साहसिक पर्यटनका खेल सञ्चालनको अनुमति स्थानीय सरकारले नै दिन पाउँछ’, श्रेष्ठले भने, ‘यसमा वडा नम्बर २० का अध्यक्ष मणिकुमार राई र वडा नम्बर १३ का अध्यक्ष नेत्र काफ्ले पनि सकारात्मक हुनुहुन्छ ।’