इनरुवाः २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारी सुनसरीको बर्जु गाउँपालिकामा १ हजार ४१ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।

सो गाउँपालिकाका ६ वटै वडाका ज्येष्ठ नागरिकलाई एकसाथ सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जनाए । उनका अनुसार पुरुष ज्येष्ठ नागरिकलाई धोती, कुर्ता, दोसल्ला र महिला ज्येष्ठ नागरिकलाई सारी, चोलो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

उनीहरूलाई गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरी र उपाध्यक्ष सङ्गीता रायले ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै सबैलाई दिवा भोज खुवाएको अधिकृत मेहताले बताए । कार्यक्रममा ६ वटै वडाका अध्यक्ष, सचिव र जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।