झापाः झापाको मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टामा बढ्दो शहरीकरण तथा बसाइँसराइँ आउनेका कारण हरेक वर्ष पिउने पानीको माग बढ्ने गरेको छ ।
काँकरभिट्टास्थित खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अनुसार ३ वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष पानीको माग बढ्ने गरेको देखाएको छ । वार्षिक रूपमा करिब ३ देखि साढे ४ सय नयाँँ धारा जडान हुने गरेको संस्थाका कार्यालय प्रमुख दीपकप्रसाद पोखरेल बताउँछन् ।
गत आर्थिक वर्ष २०७४÷२०७५ सम्म आइपुग्दा व्यक्तिगत तथा सार्वजनिक गरी संस्थामा कुल ५ हजार ३ सय १४ धारा जडान भएको कार्यालय प्रमुख पोखरेलको भनाइ छ । कार्यालयको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७४÷२०७५ को अन्त्यमा मात्र ३ सय ९१ नयाँ धारा जडान भएका छन् ।
संस्थाले उक्त वर्ष २ करोड ६८ लाख ५७ हजार २ सय ९ रुपैयाँको पानी बिक्री गरेको छ । त्यो वर्ष १ अर्ब ६८ करोड ३१ लाख ३ हजार लिटर पानी खपत भएको कार्यालयको भनाइ छ । संस्थाको कार्यालय परिसरमा २ लाख २५ हजार लिटरको ओभरहेड ट्याङ्की रहेको छ । यो सहित मेचीनगरको वडा नम्बर ५ को सुरेन्द्रनगर र वडा नम्बर ६ को बर्मेली टोलमा ४ लाख ५० हजार लिटरका दुईवटा ट्याङ्की, ६ नम्बर वडाकै शान्ति रमाइलोमा १ लाख र अर्काे १ लाख लिटरको ग्राउण्ड लेबलको गरी कुल ५ वटा ट्याङ्कीबाट संस्थाले पानी वितरण गरिरहेको छ ।
३ वर्षको तथ्याङ्क हेर्दा मानिसले उपभोग गर्ने पानीको मात्रासमेत वृद्धि भएको देखाउँछ ।