विराटचोकः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार सुन्दरहरैंचाको नगरमाता घोषित महेश्वरा अधिकारी मङ्गलबार आफ्नै घरमा सम्मानित भएकी छिन् ।
अधिकारीलाई ज्येष्ठ नागरिक जिल्ला सङ्घ मोरङले मङ्गलबार अधिकारीकै निवासमा सम्मान गरेको हो । १ सय वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई घरमै सम्मान गर्ने क्रममा अधिकारीलाई सम्मान गरिएको सङ्घका जिल्ला उपाध्यक्ष खगेन्द्र निरौलाले बताए ।
सङ्घका उपाध्यक्ष निरौलाका साथै वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद चुडाल तथा जिल्ला सदस्य शोभितबहादुर बस्नेत र मधुसुदन घिमिरेले अधिकारीलाई सम्मान गरेका थिए ।
सङ्घले दोसल्ला, नगद १ हजार १ सय १५ रुपैयाँ र उपहार दिएर सम्मान गरेको वरिष्ठ उपाध्यक्ष चुडालले बताए ।
आगामी दिनमा ज्येष्ठ नागरिकका साथै ज्येष्ठ नागरिकलाई पालनपोषण गर्ने सन्तानलाई पनि सम्मान गरिने जिल्ला सदस्य बस्नेतले जनाए ।