इटहरीः कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन तथा निषेधाज्ञा लागू गरेपछि बन्द रहेका विद्यालयहरुमध्ये निजी तथा संस्थागत तर्फका धेरै विद्यालयले अनलाइन कक्षा तथा केहीले् भौतिक दूरी कायम गरी पठनपाठन सुरु गरेकोमा सामुदायिक विद्यालयहरुमा भने हालसम्म पढाइ सुरु हुन सकेको छैन ।

केही विद्यालयहरुले विद्यार्थीका घरदैलोमा शिक्षक खटाई पढाइ सुचारु गराएका छन् । संघीय शिक्षा मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ । त्यसैलाई टेकेर धेरै विद्यालयले कक्षा तथा विद्यालय सञ्चालनको तयारी गरेका छन् । झापाको धुलाबारी उच्च माध्यमिक विद्यालयका प्राचार्य महेन्द्र लुइँटेलले विद्यार्थीलाई एक महिनासम्म गृहकार्य दिने तर त्यसलाई परीक्षण गर्नेबाहेक विद्यालय नै चलाउन सक्ने अवस्था नरहेको बताएका छन् । सुविधा सम्पन्न सहरका विद्यालय र गाउँका विद्यालय फरक दृश्य देखिएको नेपाल शिक्षक संघ प्रदेश १ का अध्यक्ष तेजप्रसाद चौलागाईंको भनाइ छ ।

“गाउँका धेरै विद्यार्थी त्यसै फुर्सदिला भएका छन् भने एकखाले विद्यार्थी ल्यापटक र मोबाइलमा पढाइलाई निरन्तरता दिइएको छ,” उनले भने, “नानीहरूका लागि बाध्यताका लागि भए पनि पढाउनैपर्ने अवस्था छ । वैकल्पिक शिक्षा सरकारी तवरबाट ल्याउने काम सुरु भएको छ । खाली समस्या कार्यान्वयनमा छ ।” महामारीका बीच अन्य गतिविधि खुला रहेको भन्दै उनले विद्यालय विद्यालय सञ्चालन रोकेर मात्र संक्रमण नरोकिने बताए । संघीय शिक्षा मन्त्रालयबाट सिकाइ सहजीकरण गरेर अघि बढ भनेर निर्देशन आएकोमा गृह मन्त्रालयबाट विद्यालय सञ्चालनमा रोक लगाइएको भन्दै उनले सरकारी निर्देशनको पनि एकद्वार प्रणाली हुनुपर्ने बताए । विद्यार्थीको चापलाई हेरेर क्रमशः विद्यालय खोल्दै जानुपर्ने र वैकल्पिक उपायका लागि सरकारले इन्टरनेट डाटा निःशुल्क दिनुपर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश १ सचिव रघुनाथ मिश्रले कोभिडले शिक्षा क्षेत्र नराम्रोसँग प्रताडित भएको बताए । शिक्षालाई अगाडि बढाउने सन्दर्भमा राज्यबाट ठोस कुरा आउनुपर्ने उनको धारणा छ । सरकारको दोहोरो निर्देशनका कारण सिकाइ सहजीकरण निर्देशिका आएपनि कार्यान्वयन हुन नसकेको उनले बताए । ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले अहिले विद्यालय सञ्चालनको समस्या र सम्भावना ताप्लेजुङमा विद्यालयको खोल्न वातावरण बनाउने कोसिस गरिरहेको बताए । पीसीआर रिपोर्ट लिएर टाढाबाट आउने शिक्षकलाई मात्र पढाउन दिइने नगरपालिकाको नीति रहेको उनले बताए ।

त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले शिक्षाबाट विद्यालय खोल्नुपर्छ भन्ने कुरा आएपनि गृह मन्त्रालयबाट खोल्नु हुँदैन भन्ने दबाब र निर्देशन आउने गरेको बताइन् । दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले दमक नगरपालिकाले विद्यालयमा कक्षा सञ्चालन गर्न सूचना जारी गरिसकेको जानकारी दिइन् । उनका अनुसार असोज १ बाट कक्षा सञ्चालन गर्ने विषयमा नगरपालिकाले पहल थालेको थियो । उनले अनलाइन कक्षा सञ्चालनको सम्भावना हेरेर आफ्ना विद्यार्थी को(को हुन् भनेर सूचीकृत गर्न विद्यालयलाई निर्देशन दिइएको बताइन् ।

भोजपुर नगरपालिकाकी उपप्रमुख ममिता राईले भौतिक दूरी कायम गराएर विद्यालय सञ्चालन गर्ने तयारी रहेको तर लकडाउन खुलेर आवतजावत सहज भएको तर विद्यालय खोल्न नसकिएको बताइन् । शिक्षकहरू पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएपछि विद्यालय खोल्ने तयारी रहेको उनको भनाइ छ ।

शिक्षा पत्रकार समूह प्रदेश १ ले विद्यालय सञ्चालनको अभ्यास र सम्भावनाको विषयमा सोमबार आयोजना गरेको भर्चुअल अन्तरसंवादमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्थानीय तहले गर्ने निर्णयमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाए । उनले ठाउँ र विद्यालयपिच्छेको अवस्था फरक हुने भएकाले सोहीअनुरुप कक्षा चलाउने योजना बनाउनुपर्ने बताए । एउटै सूत्रमा विद्यालय सञ्चालन गर्न निर्देशन दिन नसकिने भन्दै उनले स्थानीय आवश्यकता र अवस्था हेरेर पालिकाले सञ्चालन गर्न सक्ने बताए ।

मन्त्री घिमिरेले सामान्य अवस्थामा रहेको कोरोना संक्रमण जनजीवन सामान्य हुँदै जाँदा बढ्न थालेको बताए । शिक्षालयबाहेक सबै क्रियाकलाप खुलिसको भन्दै उनले कोरोनाको अनुपात दिन दुई गुणा रात चौगुना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । भारतमा संक्रमण नियन्त्रण नभएसम्म जोखिम कायम रहने भन्दै उनले स्थानीय अवस्था हेरी विद्यालय खोल्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।