विराटनगरः प्रदेश १ को नेकपा संसदीय दलको बैठकमा दोस्रो दिन पनि कुनै ठोस निर्णय हुन सकेन । सबै सांसदले आफ्नो धारणा राखिनसकेका हुनाले बैठकले कुनै निष्कर्ष ननिकालेको बताइएको छ ।

प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दिएको जानकारीअनुसार ९ सांसदको धारणा बुुझ्ने क्रम बाँकी हुँदा बैठक लम्बिएको हो ।

अब असोज १८ गते १ बजे संसद बैठक रहेको हुँदा सो भन्दा अघि नै नेकपाको  बैठक सम्पन्न गर्ने कि भोलिपल्ट अर्थात् १९ गतेलाई राख्ने भन्ने बारे टुङ्गो लाग्न बाँकी रहेको राजभण्डारीले प्रदेश पोर्टललाई जानकारी दिए ।

प्रदेश राजधानीमा विराटनगर नै कायम गर्ने या अन्यत्र सार्ने भन्ने बारेमा मत बाझिएको छ । धेरैले प्रदेशका जनतालाई पायक पर्ने गरी राजधानी राख्दा विराटनगर बाहिर हुनुपर्ने तर्क गरेका छन् भने कतिपय सांसदले कार्यपालिका र व्यवस्थापिका एकै स्थानमा हुनुपर्ने तर्क गरेका छन् ।

सांसद उत्तम बस्नेतले विराटनगर अपायक हुने भन्दै सबै जनताको भावनालाई कदर गर्नुपर्ने राय राखेका छन् । सांसद विमल कार्कीले कार्यपालिका र व्यवस्थापिका एकै ठाउँमा राख्नुपर्ने राय प्रस्तुत गरेका छन् ।

प्रदेशको नामको विषयमा भने किरात कोशी या किरात सगरमाथामध्ये एक राख्नुपर्ने अधिकांश सांसदको धारणा रहेको छ । प्रदेश १ मा ९३ जना सांसद छन् । जसमध्ये नेकपाका सांसद ६७ जना रहेका छन् ।