दुहबी/ मोरङको बुढीगङ्गा गाउँपालिकामा जितिया पर्वको अवसर पारी सांस्कृतिक कार्यक्रम गरिएको छ । संयुक्त महिला समूह मूल समारोह बुढीगङ्गा–५ ले मङ्गलबार जितियाको अवसर पारी बृहत सांस्कृतिक कार्यक्रम गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै जितिया पर्वको शुभकामना दिएका थिए ।

‘यो क्षेत्रका जनताले आफूलाई जिताएर पठाएकाले ममाथि आशा राखेका छन्,’ मन्त्री पण्डितले भने, ‘त्यसैले म यो क्षेत्रको विकासका लागि निरन्तर लागि पर्नेछु ।’ ३ वर्ष भित्रमा बुढीगङ्गाको कायापलट गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दैै नेकपाका नेता सत्यनारायण चौधरीले मन्त्री पण्डितले बोलेका धेरै वाचा पूरा भएकाले आगामी दिनमा पनि अझै धेरै काम हुनेमा विश्वास लागेको बताए । कार्यक्रममा बुढीगङ्गा क्षेत्रका विभिन्न महिला समूह तथा किशोरीको समूहले नृत्य प्रस्तुत गरेका थिए ।

यसैगरी, जितिया पर्वको अवसर पारेर बुढीगङ्गा गाउँपालिकाको आयोजनामा जितिया विशेष कार्यक्रम समपन्न भएको छ । बुढीगङ्गास्थित पोठिया चोकमा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश सभा सदस्य चुमनारायण तवदारले संस्कृति संरक्षण र जातीय सद्भाव कायम राख्नुपर्नेमा जोड दिए ।

बुढीगङ्गा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि १ नम्बर प्रदेश सभा सदस्य केदार कार्की, बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी लगायत समाजसेवी र स्थानीयको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रमका वक्ताले नेपाल सरकारले जितिया पर्वको दिन सार्वजनिक बिदा नदिएर अपहेलना गरेको आरोप समेत लगाएका थिए ।

jitiya bises (1)