इटहरी:  धनकुटामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धनकुटामा कोरोना भाइरसबाट संक्रमितको संख्या ५१ जना पुगेको छ । महालक्ष्मी नगरपालिकाका १८ जनामा गरिएको पिसिआर परिक्षण मध्ये चार जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुलाई धनकुटा नगरपालिका–६ स्थित औधोगिकग्राममा स्थापना गरिएको आइसोलेसनमा राख्ने तयारी गरिएको छ । धनकुटामा कोरोना भाइरसको संक्रमण देखिएका ५१ जना मध्ये ४५ जना कोरोना मुक्त भईसकेका छन् भने दुई जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परिक्षणमा धनकुटाको महालक्ष्मी नगरपालिकाका शिक्षक र प्रहरीमा सहित चार जनामा कोरोना संक्रमण देखिएको हो । महालक्ष्मी नगरपालिका–४ चानुवास्थित प्रहरी चौकीमा कार्यरत ४३ वर्षीय प्रहरी, महालक्ष्मी नगरपालिका–२ मारेककटहरेका ३२ वर्षीय शिक्षक र वैदेशिक रोजगारीबाट फर्किएका मारेककटहरेका दुई युवामा कोरोना भाइरसको संक्रमण देखिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए ।