इटहरीः कोशी प्रदेशको औद्योगिक उत्पादन क्षमतामा सामान्य सुधार देखिए पनि उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका उद्योगहरूको भारित औसत क्षमता उपयोग ४३.१ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो क्षमता उपयोग ४१.८ प्रतिशत थियो ।


उद्योगको क्षमता उपयोगमा सामान्य सुधार देखिए पनि कृषि उत्पादनमा आएको गिरावट, होटलहरूको घट्दो अकुपेन्सी, बाह्य पर्यटकको संख्यामा कमी तथा विभिन्न क्षेत्रमा देखिएका उत्पादनसम्बन्धी चुनौतीले प्रदेशको आर्थिक गतिविधिमा दबाब सिर्जना गरेको छ । यद्यपि बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन, विद्युत् उत्पादन क्षमता र केही औद्योगिक वस्तुको उत्पादनमा भएको वृद्धिले आर्थिक सम्भावनाका नयाँ आधारसमेत देखाएका छन् ।


नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा उपभोक्ता मूल्यमा कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धिदर २.७२ प्रतिशत थियो । यसले आर्थिक वृद्धिदरमा सुधारको संकेत गरे पनि प्रदेशको उत्पादन क्षमता र उपलब्ध स्रोतसाधनको पूर्ण उपयोग अझै चुनौतीपूर्ण रहेको देखाउँछ ।


उद्योगको क्षमता उपयोगमा सामान्य सुधार

कोशी प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशत बिन्दुले बढेको छ । तर कुल औद्योगिक क्षमताको आधाभन्दा कम मात्र उपयोग भइरहेकाले उद्योग क्षेत्रमा उत्पादन विस्तार र सञ्चालन दक्षता बढाउनुपर्ने देखिएको छ ।


उत्पादित वस्तुका आधारमा हेर्दा भटमासको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ११८ प्रतिशत पुगेको छ । यसको विपरीत वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ६.५ प्रतिशतमा सीमित छ ।


केही उद्योगको क्षमता उपयोग १०० प्रतिशतभन्दा माथि पुग्नुले तिनको उत्पादन क्षमता, उपलब्ध उत्पादन संरचना र वास्तविक उत्पादनबीचको सम्बन्ध थप अध्ययन गर्नुपर्ने देखाउँछ । अर्कोतर्फ, वनस्पति घिउ उद्योगको न्यून क्षमता उपयोगले बजारको माग, कच्चा पदार्थको उपलब्धता, लागत तथा प्रतिस्पर्धाजस्ता पक्षको समीक्षा आवश्यक रहेको संकेत गर्छ ।


अध्ययनअनुसार समीक्षा अवधिमा कोशी प्रदेशमा घरेलु धातुका सामानको उत्पादन २८७.८ प्रतिशतले बढेको छ । त्यस्तै भटमासको तेल उत्पादन ४५.३ प्रतिशत, चामल उत्पादन २८.१ प्रतिशत, वनस्पति घिउ उत्पादन ३०।५ प्रतिशत, तोरीको तेल उत्पादन ११.९ प्रतिशत, पशुदाना उत्पादन १५ प्रतिशत, चिनी उत्पादन १३.६ प्रतिशत, चाउचाउ उत्पादन १२.६ प्रतिशत र प्लास्टिकका सामानको उत्पादन १४।५ प्रतिशतले बढेको छ ।


यी तथ्यांकले प्रदेशका केही उत्पादनमूलक उद्योगमा उल्लेख्य विस्तार भएको देखाए पनि सबै उद्योगमा समान सुधार हुन नसकेको स्पष्ट पार्छ ।


औद्योगिक क्षेत्रमा कर्जा प्रवाह ८.२ प्रतिशतले बढ्यो

कोशी प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा वृद्धि भएको छ । २०८३ असार मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२ प्रतिशतले बढेको छ ।


अध्ययन प्रतिवेदनअनुसार समीक्षा अवधिमा उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा एक खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । प्रदेशमा प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा २७.२ प्रतिशत रहेको छ ।


औद्योगिक क्षेत्रमा कर्जा विस्तार हुनु उत्पादन क्षमता वृद्धि, प्रविधि सुधार र व्यवसाय विस्तारका लागि सकारात्मक आधार हुन सक्छ । तर कर्जा प्रवाहमा भएको वृद्धिसँगै उद्योगहरूको क्षमता उपयोग र उत्पादन वृद्धिमा पनि सुधार ल्याउन आवश्यक देखिन्छ ।


सुनसरी–मोरङ औद्योगिक करिडोरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सके उत्पादन विस्तार, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्न सक्ने अध्ययनले औँल्याएको छ ।


कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी रहने प्रारम्भिक अनुमान छ ।


प्रतिवेदनअनुसार प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३२.४७ प्रतिशत, उद्योग क्षेत्रको १६.६७ प्रतिशत र सेवा क्षेत्रको ४९.८५ प्रतिशत रहने अनुमान गरिएको छ ।


यस तथ्यांकले कोशी प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको देखाउँछ । कृषि क्षेत्रमा ठूलो जनसंख्या र उत्पादन गतिविधि आबद्ध रहे पनि उद्योग तथा सेवाको उत्पादकत्व वृद्धि, लगानी विस्तार र रोजगारी सिर्जनालाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ ।


कृषि बाली उत्पादन १.२ प्रतिशतले घट्यो

कोशी प्रदेशको कृषि क्षेत्रमा भने समीक्षा वर्षमा गिरावट आएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको समग्र कृषि बाली उत्पादन १.२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा कृषि बाली उत्पादन ६.७ प्रतिशतले बढेको थियो ।


कृषि बालीले ढाकेको क्षेत्रफलसमेत समीक्षा अवधिमा ०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो क्षेत्रफल ३.३ प्रतिशतले घटेको थियो । क्षेत्रफल घट्ने क्रम केही सुस्त भए पनि समग्र उत्पादनमा गिरावट आउनुले कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्ने आवश्यकता देखाउँछ ।


प्रदेशको कुल कृषि उत्पादनमा खाद्य, नगदे तथा अन्य बालीको हिस्सा ७७.७ प्रतिशत छ । तरकारी तथा बागवानी बालीको हिस्सा १४.८ प्रतिशत, फलफूलको ४.२ प्रतिशत, मसला बालीको २.८ प्रतिशत र अन्य उत्पादनको हिस्सा ०.५ प्रतिशत रहेको छ ।


खेतीयोग्य जमिनमध्ये ३६.५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्ष यस्तो हिस्सा ३५.६ प्रतिशत थियो । सिँचाइ सुविधा विस्तारमा सामान्य प्रगति भए पनि कुल खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै पर्याप्त सिँचाइ सुविधाबाट वञ्चित रहेको देखिन्छ ।


आधुनिक कृषि प्रविधि, सिँचाइ सुविधा र सामूहिक खेती प्रणालीको विकास गर्न सके तराईमा धान, गहुँ, मकै तथा उखु उत्पादन बढाउन सकिने सम्भावना छ । त्यस्तै पहाडी क्षेत्रमा चिया, अलैँची, कफी तथा फलफूल खेतीको विस्तारबाट कृषि आय र निर्यात आम्दानी बढाउन सकिने अध्ययनले संकेत गरेको छ ।


दूध र मासु उत्पादन बढ्दा अन्डा उत्पादनमा गिरावट

कृषि तथा पशुपन्छीजन्य उत्पादनतर्फ कोशी प्रदेशमा मिश्रित अवस्था देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा दूध उत्पादन १३.२ प्रतिशतले बढेको छ । मासु उत्पादनमा ०.२ प्रतिशत र माछा उत्पादनमा १.६ प्रतिशतले वृद्धि भएको छ ।


तर अन्डा उत्पादन भने ३.२ प्रतिशतले घटेको छ । पशुपन्छीजन्य उत्पादनमा देखिएको यस्तो असमानताले उत्पादन लागत, बजारको माग, पशुपालन व्यवस्थापन र व्यवसायीको लगानी क्षमताजस्ता पक्षको महत्त्व देखाउँछ ।


वन क्षेत्रमा पनि उत्पादन घटेको छ । आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा दुई करोड ४८ लाख ४५ हजार १०३ क्युबिक फिट काठ उत्पादन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७ प्रतिशतले कम हो ।


कृषि क्षेत्रमा कर्जा प्रवाह घट्यो

कोशी प्रदेशको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा गिरावट आएको छ । २०८३ असार मसान्तसम्म कृषि क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले घटेर ५५ अर्ब ६८ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।


प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रको हिस्सा ८.७ प्रतिशत रहेको छ । कृषि उत्पादनमा आएको गिरावट र कृषि कर्जामा देखिएको संकुचनलाई सँगै हेर्दा उत्पादन विस्तार, यान्त्रीकरण, सिँचाइ तथा व्यावसायिक कृषिका लागि लगानी बढाउनुपर्ने आवश्यकता देखिन्छ ।


कोशी प्रदेशमा अलैँची, चिया र अदुवाजस्ता तुलनात्मक लाभ भएका कृषि उपजको उत्पादन तथा गुणस्तर वृद्धि गरी निर्यात प्रवर्द्धन गर्न सकिने सम्भावना छ । तर बसाइँसराइ, खेतीयोग्य जमिन बाँझिने क्रम र जंगली जनावरबाट हुने क्षतिले कृषि उत्पादनमा चुनौती थपिरहेका छन् ।


होटल अकुपेन्सी ३२ प्रतिशतमा झर्‍यो

कोशी प्रदेशको पर्यटन तथा आतिथ्य क्षेत्रमा पनि सुस्तता देखिएको छ । समीक्षा वर्षमा प्रदेशका होटलहरूको औसत अकुपेन्सी दर ३२ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो दर ३९.२ प्रतिशत थियो ।


यसैगरी, प्रदेशका होटलमा बस्ने बाह्य पर्यटकको संख्या समीक्षा अवधिमा २१.८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा बाह्य पर्यटकको संख्या २८.६ प्रतिशतले बढेको थियो ।


होटलको अकुपेन्सी र बाह्य पर्यटकको संख्यामा आएको गिरावटले पर्यटनसँग सम्बन्धित व्यवसायमा दबाब परेको संकेत गर्छ । पर्यटकीय गन्तव्यको प्रचारप्रसार, यातायात तथा अन्य पूर्वाधारको सुधार, गुणस्तरीय आतिथ्य सेवा र नयाँ पर्यटकीय उत्पादनको विकासबाट यस क्षेत्रमा गतिविधि बढाउन सकिने सम्भावना छ ।


त्यस्तै विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोडजस्ता प्रमुख सहरमा पूर्वाधार, बैंकिङ, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गर्न सकिने अध्ययनले देखाएको छ । सीमावर्ती सहरमा स्वास्थ्य पर्यटनको विकासबाट समेत आर्थिक गतिविधि विस्तार गर्न सकिने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।


निक्षेप ६ खर्ब ४१ अर्ब, कर्जा ६ खर्ब ३९ अर्ब

कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन र कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ ।


२०८३ असार मसान्तसम्म प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १६.१ प्रतिशतले बढेर ६ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा कुल कर्जा प्रवाह ४.२ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।


प्रदेशभर बैंक तथा वित्तीय संस्थाका कुल एक हजार ८३६ शाखा सञ्चालनमा छन् । तीमध्ये वाणिज्य बैंकका ७५२, विकास बैंकका १९३, वित्त कम्पनीका ३५ र लघुवित्त वित्तीय संस्थाका ८५६ शाखा रहेका छन् ।


निक्षेपको संरचना हेर्दा कुल निक्षेपमा चल्ती निक्षेपको हिस्सा ८ प्रतिशत, बचत निक्षेपको ६२ प्रतिशत, मुद्दती निक्षेपको २४।५ प्रतिशत र अन्य निक्षेपको हिस्सा ५.५ प्रतिशत रहेको छ ।


सेवा क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेर चार खर्ब नौ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । प्रदेशमा प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रको हिस्सा ६४.१ प्रतिशत रहेको छ ।


यसले प्रदेशको बैंकिङ गतिविधिमा सेवा क्षेत्रको ठूलो भूमिका रहेको देखाउँछ । कृषि र उद्योगको उत्पादन क्षमता बढाउन बैंकिङ स्रोतलाई उत्पादनमूलक क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गर्नु महत्त्वपूर्ण देखिन्छ ।


विद्युत् उत्पादन क्षमता ९७७.२ मेगावाट

ऊर्जा क्षेत्रमा भने कोशी प्रदेशले उत्पादन क्षमता विस्तार गरेको छ । प्रदेशमा सञ्चालनमा रहेका विद्युत् आयोजनाको कुल उत्पादन क्षमता ९७७.२ मेगावाट पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो क्षमता ७८७.७ मेगावाट थियो ।


आर्थिक वर्ष २०८२/८३ मा निर्माण सम्पन्न भएका सात जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमता २०६.२ मेगावाट रहेको छ ।


प्रदेशमा सञ्चालनमा रहेका ६४ जलविद्युत् आयोजनामध्ये सोलुखुम्बु जिल्लामा सबैभन्दा बढी ३४९.८ मेगावाट विद्युत् उत्पादन क्षमता छ ।


जिल्लागत विवरणअनुसार इलाममा १८, संखुवासभामा १०, सोलुखुम्बुमा १०, ताप्लेजुङमा नौ, ओखलढुंगामा पाँच, भोजपुर र पाँचथरमा चार–चार तथा तेह्रथुम र खोटाङमा दुई–दुई जलविद्युत् आयोजना सञ्चालनमा छन् । झापा र मोरङमा भने एक–एक सौर्य विद्युत् आयोजना रहेका छन् ।


विद्युत् उत्पादन क्षमता विस्तारले प्रदेशको ऊर्जा क्षेत्रमा सम्भावना बढाएको छ । पर्याप्त विद्युत् उपलब्धतालाई औद्योगिक उत्पादन, नयाँ उद्योग स्थापना तथा रोजगारी सिर्जनासँग जोड्न सके यसको आर्थिक लाभ अझ विस्तार गर्न सकिनेछ ।


उत्पादन र लगानी विस्तार नै मुख्य चुनौती

नेपाल राष्ट्र बैंकको अध्ययनले कोशी प्रदेशमा कृषि, उद्योग, सेवा, पर्यटन र ऊर्जा क्षेत्रमा सम्भावना रहे पनि ती क्षेत्रको उपलब्ध क्षमता पूर्ण रूपमा उपयोग हुन नसकेको देखाएको छ ।


कृषिमा उत्पादन र खेतीयोग्य क्षेत्र घट्नु, औद्योगिक क्षमताको आधाभन्दा कम उपयोग हुनु, होटल अकुपेन्सी घट्नु र बाह्य पर्यटकको संख्यामा गिरावट आउनुले उत्पादन तथा सेवा क्षेत्रको विस्तारमा थप प्रयास आवश्यक रहेको संकेत गर्छ ।


अर्कोतर्फ, बैंकिङ निक्षेपमा वृद्धि, औद्योगिक कर्जाको विस्तार, केही वस्तुको उत्पादनमा उल्लेख्य वृद्धि र जलविद्युत् उत्पादन क्षमताको बढोत्तरीले प्रदेशको अर्थतन्त्रमा लगानी विस्तारका अवसर पनि देखाएका छन् ।


कृषि क्षेत्रमा सिँचाइ, आधुनिक प्रविधि र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने, तुलनात्मक लाभका बालीको गुणस्तर सुधार गर्ने, उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा पर्यटन पूर्वाधार र सेवामा लगानी बढाउने नीति प्रभावकारी हुन सके कोशी प्रदेशको आर्थिक सम्भावना थप उपयोग गर्न सकिने देखिन्छ ।


विशेषगरी सुनसरी–मोरङ औद्योगिक करिडोरको उत्पादन क्षमता बढाउने, कृषि उपजको प्रशोधन तथा निर्यात प्रवर्द्धन गर्ने र विराटनगरदेखि बिर्तामोडसम्मका प्रमुख सहरमा पूर्वाधार तथा सेवामूलक क्षेत्रमा लगानी विस्तार गर्ने कार्यले प्रदेशको उत्पादन, रोजगारी र आय वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।


समग्रमा, कोशी प्रदेशको अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि दिगो आर्थिक वृद्धि हासिल गर्न उत्पादन क्षमता उपयोग, कृषि उत्पादकत्व, औद्योगिक लगानी र पर्यटन पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्ने अध्ययनको निष्कर्ष छ ।