इटहरीः प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाउने मतको विपक्षमा विराटनगर सदरमुकाम भएको मोरङ जिल्लाकै जनप्रतिनिधिहरू देखिएका छन् । खासगरी उत्तरी मोरङका बेलबारी, सुन्दरहरैंचा, लेटाङ, पथरी, उर्लाबारीलगायतका स्थानीय तहका जनप्रतिनिधिहरू नै विराटनगरको विपक्षमा उभिएको पाइएको छ ।

सुन्दरहरंैचा नगरपालिकाले त गत वर्ष शहरी विकास मन्त्रालयलाई पत्र नै लेखेर गोठगाउँमा राजधानी बनाउन आग्रह गरेको थियो । २०७४ मंसिर २६ गते ९०७ चलानी नम्बरमा मेयर शिवप्रसाद ढकालले यस बारेमा एक पत्र लेख्दै आग्रह गरेका थिए ।

मेयर ढकालले पूर्वाञ्चल विश्वविद्यालय मातहतको ८ सय ५ बिघा जग्गामध्ये ३ सय ५० बिघा जग्गा प्रदेश राजधानीलाई दिने नगरकार्यपालिकाको निर्णय नै भएको पत्रमा उल्लेख गरेका थिए ।

सुन्दरहरैचाका मेयर ढकालजस्तै लेटाङ नगरपालिकाका मेयर शङ्कर राईले स्थायी राजधानी विराटनगरभन्दा गोठगाउँ उपयुक्त भएको बताए । उनले भने, ‘हामीले राजधानी बनाउने त होइन तर कसैले कहाँ उपयुक्त हुन्छ भनेर सोधेमा म विराटनगर होइन गोठगाउँ भनेर लेखेरै दिन्छु ।’

बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीसमेत विराटनगर भन्दा गोठगाउँ राम्रो विकल्प भएको बताउँछिन् । फोनमा कुरा गरेकी पराजुलीले भनिन्, ‘मैले राजधानी कहाँ हुन्छ भनेर आधिकारिक बोल्न सक्दिनँ । तर, विराटनगर भन्दा गोठगाउँ राम्रो हो ।’ पथरी, उर्लाबारी, कानेपोखरीका जनप्रतिनिधिको पनि यस्तै धारणा रहेको बताइएको छ ।

उत्तरी मोरङका जनप्रतिनिधिहरू मात्रै होइन प्रदेश सांसदहरूले पनि राजधानी विराटनगरभन्दा गोठगाउँ उपयुक्त भएको बताउँदै आएका छन् । केही समय अगाडि विराटनगरमा नेकपा र नेपाली काङ्ग्रेसका विराटनगर राजधानी हुनुपर्ने पक्षधर सांसदहरूको अनौपचारिक भेलाले समेत विराटनगरबाट राजधानी सर्ने अवस्था आए गोठगाउँ स्वीकार गर्न सकिने बताएका थिए ।

सो भेलामा सहभागी भएका एक नेपाली काङ्ग्रेसका सांसदले भने, ‘प्रदेश राजधानीमा इटहरी, धनकुटा र गोठगाउँको कुरा छ । हामीले समर्थन गर्नुपर्दा मोरङकै भएकाले गोठगाउँलाई गर्ने कुराकानी भयो ।’