इटहरीः प्रदेश नं १ को राजधानी कहाँ हुने भन्ने विषयले अहिले प्रदेशवासीको ध्यान खिचेको छ । प्रदेश सभाका सांसददेखि जनतासम्म स्थायी राजधानी आफ्नो पायक पर्ने स्थानमा होस् भन्ने ध्याउन्नमा देखिन्छन् ।
प्रदेश सांसदहरू आन्तरिक लबिङमा व्यस्त छन् । सांसद मात्र होइन व्यापारी, नागरिक समाज, लेखक तथा पत्रकारले पनि प्रदेश राजधानी उपयुक्त स्थानमा हुनुपर्ने तर्क गर्न थालेका छन् । सामाजिक सञ्जालदेखि औपचारिक अनौपचारिक छलफलमा प्रदेश राजधानीले स्थान पाउन थालेको छ । राजधानीको विषय यति धेरै पेचिलो बन्दै गर्दा प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस भने अझै मौन छ । नेपाली काङ्ग्रेसले औपचारिक रूपमा राजधानीको विषय उठान गर्न सकेको छैन । सम्पूर्ण जनताको चासोको विषय बनिरहेको स्थायी राजधानी बन्ने प्रक्रियामा काङ्ग्रेसले कुनै चासो नदिएको जस्तो भान पारिरहेको छ ।
काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइराला राजधानी त्यति धेरै पेचिलो विषय नभएको कारण हतार गरिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । राजधानी र नामङ्कनको बारेमा साना दलहरूले आआफ्नो धारणा सार्वजनिक गरिरहँदा काङ्ग्रेसले हतारो नगर्नुलाई धेरैले कुटनीतिक खेलको रूपमा बुझ्न थालेका छन् । प्रदेश नं १ का विराटनगर, इटहरी, धनकुटा र धरान शहरले स्थायी राजधानीको दाबी गरिरहेका छन् ।
अस्थायी राजधानी सञ्चालन हुँदा बनेका संरचना भएको र ऐतिहासिक शहर भएकाले विराटनगरले स्थायी राजधानी दाबी गरिरहेको छ । इटहरीले सुरक्षित र सबैलाई पायक पर्ने शहर भनेको छ भने धनकुटाले हावापानी र पुरानो क्षेत्रीय कार्यालयका संरचनाले राजधानी हुन योग्य भएको तर्क गरिरहेको छ । धरान व्यवस्थित र सुरक्षित शहरको हवाला दिँदै राजधानी दाबी गरिरहेको छ । सत्तारुढ सांसददेखि स्थानीय जनताले आफ्नो धारणालाई खुलस्त पारिरहँदा काङ्ग्रेसको धारणा अझै गर्भमै रहेको छ । काङ्ग्रेस आफैँमा त्यति मौन छैन जति बाहिरबाट देखिन्छ ।
काङ्ग्रेसले आफ्नो धारणालाई निर्णायक होस् भन्ने गरी तयारी थालेको छ । अस्थायी राजधानीको रूपमा रहेको विराटनगर काङ्ग्रेसको पकेट क्षेत्र भएकाले विराटनगर नै स्थायी राजधानी हुनुपर्ने काङ्ग्रेसका केही सांसदको बुझाइ छ । प्रदेशको एक मात्र महानगरपालिकामा काङ्ग्रेसले नेतृत्व गरिरहेको छ । स्थानीय तह निर्वाचनको समयमा काङ्ग्रेसले विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउने कुरा घोषणापत्रमा समावेश गरेको थियो । त्यसैले पनि हँुदाछँदाको राजधानी बाहिर गयो भने काङ्ग्रेसमाथि थप दबाब हुने देखिएको छ ।
त्यतिमात्र होइन नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाको पकड क्षेत्र भएकाले पनि विराटनगरबाहिर राजधानी लैजान काङ्ग्रेसलाई सकस परिरहेको छ । विराटनगर बाहिर राजधानी गएमा नेताहरूको क्षमतामाथि पनि प्रश्न उठ्ने भएकाले विराटनगर नै राजधानी हुनुपर्नेमा विराटनगरका सांसदहरूको जोड छ । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्की विराटनगरको विकल्प खोज्न नहुने बताउँछन् । प्रदेशको विकास र आर्थिक समृद्धिको विषयमा योजना बनाउने बेला राजधानीको विषय उठाउन जरुरी नरहेको उनको भनाइ छ । कार्कीकै भनाइलाई आधार मान्दै संसदीय दलका नेता राजीव कोइराला पनि मौन देखिएका छन् । उनको मौनता झनै कूटनीतिक देखिएको छ ।
उनी डा. कोइराला निकट भएकाले पनि आफ्नै निर्वाचन क्षेत्रमा पर्ने इटहरीको बारेमा खुलस्त बोल्न सकेका छैनन् । प्रतिनिधि सभाका ४ क्षेत्रमध्ये ३ क्षेत्रमा विजयी भएको काङ्ग्रेसले सुनसरीकै धरान वा इटहरीको समर्थन गर्न सकिरहेको छैन । सुनसरी काङ्ग्रेसका सभापति समेत रहेका उनी सुनसरी नै राजधानी हुनुपर्छ भन्नेमा लागिपरेको जस्तो देखिँदैन । डा. कोइरालाकै निर्वाचन क्षेत्र मानिएको मोरङको गोठगाउँलाई काङ्ग्रेसले समर्थन गर्न सक्ने देखिएको छ ।
सुनसरीका विजयी सांसद मौन रहेको अवस्थामा डा. कोइराला भने राजधानीको विषयमा बारम्बार छलफल र परामर्शमा छन् । सुनसरीको बहुमत क्षेत्रमा विजयी भएको काङ्ग्रेसले मोरङकै बारेमा सहमत हुन खोज्नु थप चासोको विषय बनेको छ । कुनै बेला काङ्ग्रेसको पकड जिल्ला मानिएको मोरङ पछिल्लो समय कमजोर बन्दै गइरहेको बेला प्रदेश राजधानी मोरङमै राख्न सके पुरानो विरासत ब्युँताउन सक्ने काङ्ग्रेसको बुझाइ छ ।
त्यसैले सकेसम्म विराटनगरमै जोड दिने, नभए गोठगाउँमा पनि सहमत हुन सक्ने गरी काङ्ग्रेसले तयारी थालेको छ । काङ्ग्रेसको लागि धरान खासै उर्वर नहुनु, इटहरी र धनकुटा पनि काङ्ग्रेस पराजित नगर भएकाले विराटनगर नै काङ्ग्रेसको प्राथमिकतामा परको हो । त्यतिमात्रै होइन विराटनगर राजधानी नहुने हो भने काङ्ग्रेसले नै जितेको मोरङको अर्को नगरपालिका सुन्दरहरैंचाको गोठगाउँमा राजधानी हुनुपर्ने काङ्ग्रेसको अडान हुने काङ्ग्रेस निकटस्थहरू बताउँछन् । तर खुर्शीद आलमको हत्याकाण्डपछि राजधानीको बहस थप पेचिलो भइरहेको छ ।
विराटनगरमा सुरक्षा संवेदनशीलता बढी भएकाले स्थायी राजधानी बनाउन सांसदहरू ससङ्कित भएका हुन् । निहत्था जनताको दिनदहाडै हत्या भइरहेको बेला भोलि संवेदनशील विषयमा बोल्नुपर्दा आफू सुरक्षित नहुने सांसदको बुझाइ छ । सांसदको पछिल्लो शङ्काले स्थायी राजधानीको निर्णय गर्न सक्ने देखिन्छ ।
काङ्ग्रेसकै सांसदले पनि खुलेर बोल्न नखोज्नु र सरकारले संसदमा प्रस्ताव पेश गरेपछि मात्र बोल्ने बताउनुले काङ्ग्रेसको कुटिलता स्पष्ट भएको छ । यो मौनतामा काङ्गे्रसले आफू विजयी हुने बाटो खोजिरहेको छ ।