धरानः ‘मेरो पुनर्जन्म भयो....!’ यो भनाइ हो भोजपुरको षडानन्द नगरपालिका–८ का ४५ वर्षीय भीमबहादुर तामाङको । हृदयाघात भएर मृत्युको नजिक पुगेका तामाङलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक प्रशान्त साहले नयाँ जीवन दिएपछि तामाङले यस्तो बताएका हुन् ।

‘मलाई त डाक्टर प्रशान्तले नयाँ जीवन दिनुभयो,’ तामाङले भने, ‘त्यसैले अहिले यो पृथ्वीमा मैले पुनर्जन्म लिएर आएँ ।’

गत असोज ३ गते बिहान तामाङ ब्याडमिन्टन खेल्दै थिए । उनलाई एक्कासी छाती दुख्ने समस्या भयो । मधुमेहका रोगीसमेत रहेका उनलाई तत्कालै षडानन्द गाउँपालिकास्थित दिङ्लाको एक निजी क्लिनिक लगियो । तर, ६ घण्टा बित्दा पनि दुखाइ २० को १९ भएन । छाती दुख्ने समस्याले झनै च्याप्दै लग्यो । त्यसपछि उनलाई ल्याण्डरोभर गाडीबाट रातको ११ बजे थप उपचारको लागि धरान ल्याइयो । भोलिपल्ट बिहान ६ बजेमात्र उनलाई धरानस्थित बीपी प्रतिष्ठान ल्याइपु¥याइयो । त्यतिबेलासम्म उनको स्वास्थ्य जोखिम अवस्थामा थियो ।

प्रतिष्ठानका मुटु रोग विशेषज्ञ प्रा.डा. साहको नेतृत्वमा उनको उपचार शुरु गरियो । तर, स्वास्थ्य अवस्था जोखिम रहेकाले चिकित्सकले बचाउन सक्ने÷नसक्ने केही बताउन सकेनन् । डा.साहका अनुसार तामाङको मुटुको भल्भ बन्द भएकाले स्वास्थ्य अवस्था झनै जोखिम थियो । मुटुमा पेसमेकर (मुटुलाई ब्याट्रीबाट कृत्रिम रूपमा चलाउने) मेसिन राखेर डा. साहको टोली निरन्तर उपचारमा लागिप¥यो । डा. साहले अलिकति पनि हरेस खाएनन् । उनको अथक प्रयासले अन्तत तामाङले नयाँ जीवन पाए ।

‘उहाँ क्रिटिकल कण्डिसनमा हुनुहुन्थ्यो । तर, मैले हरेस खाइनँ’ डा. साहले भने, ‘पाँच प्रतिशत मात्र बाँच्ने आशा थियो । तैपनि भगवानको कृपा नै भनौँ उहाँलाई बचाइयो ।’ हृदयाघात भएकालाई सबै विकल्प प्रयोग गर्दा पनि १५ प्रतिशतलाई भने बचाउन नसकिने डा. साहले बताए ।

तामाङलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरियो । त्यसलगत्तै नयाँ जीवन दिलाउने डा. साहलाई प्रतिष्ठानको क्याथल्याब परिसरमा बुधबार तामाङ परिवारले सम्मान ग¥यो । मृत्युको नजिक पुगेको आफूलाई नयाँ जीवन दिएको भन्दै तामाङले डा. साहलाई धन्यवाद ज्ञापन गरे । डा. साह भगवानको अर्को रूप भएर आफ्नो श्रीमान्लाई बचाएको भन्दै उनकी श्रीमती सूर्यकुमारीले पनि धन्यवाद व्यक्त गरिन् । बेलायत र सिंगापुरबाट आएका उनका दुई छोराहरूले पनि डा. साहप्रति आभार व्यक्त गरे । मायाको चिनो स्वरूप तामाङ परिवारले डा. साहलाई भगवान गौतम बुद्धको प्रतिमा हस्तान्तरण गरे ।

प्रतिमा दिने क्रममा तामाङले भने, ‘मलाई अर्को जन्म दिनुभयो । तपाईंलाई धेरै–धेरै धन्यवाद ।’ डा. साहले पनि उनलाई बधाइ दिए । उनलाई ढिलो अस्पताल ल्याए पनि राम्रो उपचार पाएकाले अङ्गभङ्ग हुनबाट समेत बचेको डा. साहले बताए । पछिसम्म पनि त्यस्तो समस्या आउँदैन भन्नेमा विश्वास रहेको उनले सुनाए ।

तामाङ परिवारमा अहिले खुशी छाएको छ । एकाएक निभ्न लागेको दियो फेरि बलेकोजस्तो भएको छ । ‘माया मारिसकेको मेरो श्रीमान्लाई भगवान भएर डाक्टर सा’बले बचाउनुभयो,’ भावुक हुँदै सूर्यकुमारीले भनिन्, ‘धेरैधेरै धन्यवाद दिन चाहन्छु डाक्टर सा’बलाई । ठूलो गुन लगाउनुभयो ।’

मानिसहरूले प्रायः स्वास्थ्यको त्यति ख्याल नराख्दा हृदयाघातको सिकार हुने डा. साहले बताए । मानिसहरूले खानपानमा ध्यान नदिँदा मुटु कमजोर हुन्छ । त्यसैले खानपानमा ध्यान दिनुका साथै शारीरिक व्यायाम गर्न जरुरी भएको उनको भनाइ थियो । ३५ वर्ष नाघेपछि बेलाबेलामा स्वास्थ्य जाँच गराई सुगर, प्रेसर, कोलेस्ट्रोललगायतको पहिचान गर्न सके हृदयरोगबाट बच्न सकिने डा. साहले सुझाव दिए ।

bhim bdr news (2)

पहिचान भए तत्काल औषधि शुरु गरी रोग नियन्त्रण गर्न सकिने उनले बताए । मानसिक तनाव कारण पनि हृदयाघात हुने हुनाले हृदयाघात भएपछि तत्काल अस्पताल ल्याउने कोशिस गर्नुपर्ने डा. साहले बताए । मुटु रोगलाई ग्यास्ट्रिक होला भनेर अन्दाज गरी उपचारमा हेलचेक्र्याइँ गर्दा पनि बिरामीको अकालमै मृत्यु हुने डा. साहको भनाइ थियो । ‘कति त ग्याष्ट्रिक भन्दै घरैमा बस्दा अकालमा ज्यान गुमाउँछन् । तर अहिले विभिन्न चेतनाका कारणले धेरै राम्रो भएको छ,’ डा. साहले भने ।

प्रतिष्ठानमा ३ वर्षयता मात्र मुटुको उपचार हुन थालेको डा. साहले बताए । अहिले बिरामीको चाप बढेको उनले बताए । डा. साहका अनुसार दैनिक १ सय जना मुटु रोगीहरू जँचाउन आउने गरेका छन् । त्यसमा करिब २० जनालाई हृदयाघातको समस्या देखिने गरेको छ । ‘समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रमहरूले गर्दा पनि मुटु रोगीहरू जँचाउन आउन थालेका छन्,’ डा.साहले भने ।