झापाः मान्छेले गर्न चाहे अनि भित्रै मनदेखि काम गर्ने दृढ सङ्कल्प भए कुनै पनि काम असम्भव छैन भन्ने गतिलो उदाहरण मेचीनगरको वडा नम्बर ४ बाहुनडाँगीका बसिन्दाले पुष्टि गरेका छन् । त्यसको अगुवाइ गरेका छन् वडाध्यक्ष नवीन बरालले ।
‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने मनशाय बोकेका बाहुनडाँगीवासीले आफ्नै श्रमदान र लगानीमा गाउँको मुहार परिवर्तन गरिदिएका छन् । यसले आफ्नो गाउँको विकास गर्न कसैको मुख ताक्नुपर्दाे रहेनछ भन्ने गतिलो सन्देश पनि दिएको छ ।
वर्षौंदेखि मेचीनगरको मुख्य व्यापारिक केन्द्र काँकरभिट्टा हुँदै बाहुनडाँगी भएर इलामको रोङ गाउँपालकिा जोड्ने बाटोमा परेका खाल्डाखुल्डीका कारण समस्या झेल्दै आएका सर्वसाधारण समेतले राहत पाएका छन् । यतिबेला बाहुनडाँगीवासीले गरेको उक्त रचनात्मक कार्यका कारण उनीहरू खुलेरै प्रशंसा समेत गरिरहेका छन् ।
झापाको मेचीनगरको वडा नम्बर १ र ४ जोड्ने सूर्याेदय मार्गको करिब ६ किलोमिटर सडकको स्तरोन्नति गर्ने काम पूरा भएपछि सर्वसाधारणले राहतको महसुस गरेका हुन् । बाटोको स्तरोन्नति भएपछि अहिले बाहुनडाँगी मात्र होइन इलामसम्म आवतजावत गर्न धेरैलाई सजिलो भएको छ ।
वडाध्यक्ष बरालका अनुसार मेचीनगर–४ को हात्ती रिसोर्टदेखि वडा नम्बर–१ को सीमा भोर्लेनी शिवालय मन्दिरसम्म साढे तीन मिटर चौडाइ भएको सडकको स्तरोन्नति गर्ने काम पूरा भएको छ ।
वडाको इन्धन बजेटबाट ४ लाख ५० हजार रुपैयाँको लागतमा वडाध्यक्ष बरालको सक्रियतामा वडावासीको श्रमदान तथा विभिन्न सङ्घ संस्थाहरू र राजनीतिक दलहरूको सहयोगमा ४ दिनमा उक्त कार्य सम्पन्न भएको हो । वडाध्यक्ष बरालका अनुसार जुन कार्य सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । तर, स्थानीयवासी, विभिन्न सङ्घ संस्था, राजनीतिक दललगायत सर्वसाधारण बाटो बनाउने कार्यमा जुटेपछि सडकको स्तरोन्नति थोरै रकम र छोटै समयमा सम्पन्न भएको हो ।
यसमा स्थानीयवासीले स्वतःस्फूर्त रूपमा गरेको श्रमदान र जोश, जाँगर र उत्साह अन्य वडावासीका लागि उदाहरणीय बन्ने वडाध्यक्ष बरालको भनाइ छ । नगरपालिकाले पनि ट्रिपर, जेसीभीलगायतका साधन उपलब्ध गराएको थियो ।
पुरानो सीमावर्ती बजार बाहुनडाँगी जोड्ने सो बाटोमा भएका खाल्डाखुल्डीका कारण यात्रुहरूले समस्या बेहोर्दै आएका थिए । बाटो स्तरोन्नति भएसँगै इलामको रोङ गाउँपालिकाको सलकपुर आवतजावत गर्न सजिलो भएको जितेन्द्र मगरको भनाइ छ ।
बाटोको स्तरोन्नति भएपछि सवारी चालकदेखि सर्वसाधारणले समेत अहिले राहत महसुस गरेका छन् । ‘गर्न चाहे र भित्री मनदेखि गर्छु भनेर लाग्ने हो भने कुनै काम असम्भव छैन,’ वडाध्यक्ष बरालले भने, ‘वर्षांैदेखि बाटोको हविगत हेरिसक्नु थिएन । हामी काम गर्ने भनेर लाग्यौँ । सबै क्षेत्रबाट सक्दो सहयोग भयो । स्थानीयवासीले समेत जे जे सकिन्छ त्यहीत्यही सहयोग उपलब्ध गराएपछि सहज रूपमै सडकको स्तरोन्नति थोरै रकम र छोटै समयमा भयो ।’
उक्त कार्य सम्पन्न गर्न वडाध्यक्ष बरालले व्यक्तिगत रूपमा ७५ हजार रूपैयाँ बराबरको यान्त्रिक सहयोग गरेका थिए भने वडा सदस्य विनोद रञ्जितकार तथा स्थानीय व्यवसायी ज्ञानु कार्कीले करीब ६० हजार रुपैयाँ बराबरको सहयोग गरेका थिए ।
मोहन बस्नेत, नवीन न्यौपाने, नेत्र सुब्बा, नरेश लावती, इन्द्र सुब्बा, विकास लावती नयन बरालको देन पनि सडक स्तरोन्नतिमा निकै प्रशंसायोग्य रहेको वडाध्यक्ष बरालको भनाइ छ । यसैगरी अन्य व्यवसायीहरूले समेत १ लाख रुपैयाँभन्दा बढीको सहयोग गरेका थिए ।
‘यो समस्या ज्यादै पुरानो हो । धेरै चुनावमा दलहरूले यो बाटोको समस्यालाई भोट माग्ने मुख्य माध्यम बनाए’, बाहुनडाँगी युवा क्लबका उपाध्यक्ष रमेश थापाले भने, ‘यसपटक वडाध्यक्षज्यू अघि सर्नुभयो, हामी सबैले साथ दियौँ । अन्ततः काम पनि गुणस्तरीय नै छ । यो काम सम्पन्न भएसँगै बाहुनडाँगीवासीको लामो समयदेखिको सपना पूरा भएको महसुस हामीले गरेका छौँ ।’ क्लबले समेत बाटोको स्तरोन्नतिका लागि सक्दो सहयोग गरेको थापाले बताए ।
‘यति काम गर्न उपभोक्ता समिति बनाउने हो भने ३० लाख भन्दा बढी रकम खर्च हुने थियो’, थापाले भने, ‘हामीसँग जेजे थियो त्यहीत्यही सहयोग ग¥यौँ । कसैले ट्रिपर, कसैले रोलर कसैले पानी हाल्ने ट्याङ्कर, कसैले जेसीभी उपलब्ध गराउनुभयो । कसैले आफँै श्रमदान गर्नुभयो । थोरै रकममा छिटै काम सकियो ।’