इटहरी / धरानको अरुण पेट्रोल पम्प सञ्चालन गर्ने अपुश्री इन्टरप्राइजेजले वितरण गर्ने पानीमा राजस्व छली गरेको पाइएको छ ।
दैनिक ६ हजार देखि १८ हजार लिटर पानी बेच्दै आएको कम्पनीका सञ्चालक बलराम दाहाल नै स्वीकार्छन् । तर, दाहालको कम्पनीले दिने बिलमा राजस्व समेत नतिरिएको भेटिएको छ । धरानका पानी प्रयोगकर्ता अरुणकुमार प्रधानले आफूले तिरेको पानीको रसिद सामाजिक सञ्जालमा राखेपछि यो कुराको खुलासा भएको हो ।

काठमाडौंमा भन्दा महँगो

Dharan Panai 2 काठमाडौ र धरान दुवैतिर बसोसबास र व्यवसाय गर्दै आएका धरानका अरुणकुमार प्रधानले धरानको खानेपानी असाध्यै महँगो भएको भन्दै पोस्ट गरेका थिए । काठमाडौमा गोदावरीबाट ल्याएको ७ हजार २ सय लिटर पानीको मूल्य जम्मा १ हजार ८ सय पर्छ । तर, धरानमै रहेको तिनकुनेको कत्था उद्योग क्षेत्रबाट ल्याइएको ६ हजार लिटर पानीको मूल्य भने ४ हजार ८ सय रुपैयाँ पर्छ । काठमाडौ र धरान दुवैतर्फ तिरेको पानीको बिल सामाजिक सञ्जालमा पोस्ट गर्दै धरानको पानीको सिन्डिकेट तोडिनुपर्ने भनेर प्रधानले लेखेका छन् ।
प्रधानकै पोस्टमा धरानका फोटो पत्रकार सोहन श्रेष्ठले धरानमा ६ हजार लिटर पानी खरिदको मूल्य ९ सय पर्ने लेखेका छन् । पानीको विषयमा जानकार श्रेष्ठकै हिसाबमा पनि हरेक ६ हजार लिटर पानीमा ३ हजार ९ सय थप रकम लिएको देखिन्छ । सामान्य ढुवानी खर्च र अन्य स्टाफ खर्च हेर्दा पनि यो धेरै महँगो भएको धरानका पानी उपभोक्ता तथा जेन्स होस्टेल सञ्चालक सौगात देवान बताउँछन् ।
यति मात्रै होइन, पानीको महँगो बिलमा राजस्व समेत नतिरेको भेटिएपछि अपुश्री इन्टरप्राइजेजको चर्को आलोचना भएको छ । अरुण प्रधानले राखेको काठमाडौ र धरानको पानीको बिलका दुवै तस्बिर मुनि प्रतिक्रिया दिँदै मातृकाप्रसाद नेपालले कर नतिरेको प्रसंग ल्याएका छन् । उनले भनेका छन्, ‘अरुण सर तपाईँले पेश गर्नुभएको पानीको बिलमध्ये धरानको बिलमा त पान नम्बर समेत छैन ।

जनतालाई मात्रै होइन कर पनि छली भइराखेको छ ।’
न्यू फूलचोकी पानी सप्लायर्स ललितपुरको बिलमा पान नम्बरसमेत रहेको तर धरानको महँगो पानीको बिलमा पानीको हिसाब मात्रै राखिएको पाइएको छ । पान नम्बर अनि कम्पनीको नाम चलाखीपूर्वक नराखिएको पाइएको छ ।
बिलमा रहेको गाडी नम्बर र सम्पर्क फोन नम्बरका आधारमा धरानको अरुण पेट्रोल पम्प समेत सञ्चालन गर्ने बलराम दाहालको अपुश्री इन्टरप्राइजेजले यस्तो आर्थिक अपराध गरेको पत्ता लागेको हो ।

हाम्रो पान बिल नै छैन ः सञ्चालक
यता सञ्चालक बलराम दाहालले पनि आफ्नो पानी वितरण गर्ने संस्थाको पान नम्बरको बिल नभएको जनाए । धरानका एक उपभोक्ताले मंगलबार साँझ कुराकानी गरेर पान बिल माग्दा दाहालले आफूसँग पानीको पान बिल नभएको बताए । पूर्वी बजारकर्मीसँगै बसेर कुराकानी गरेका ती उपभोक्तालाई दाहालले अन्य कम्पनीको पान बिल मिलाउन भने सकिने बताए । उनले भने, ‘हामीसँग पान बिलै त छैन । पान बिल नै चाहिने भए अर्को कुनै बिल काटेर पनि काम गर्न सकिन्छ ।’