विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बिहीबार भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् ।
कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, ‘तपाईहरू नयाँ जिम्मेवारीमा हुनुहुन्छ । प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्, हामी त्यहीअनुसार तपाईहरूको मूल्याङ्ककन गर्नेछौं ।
हामी अहिले नयाँ नेपालमा छौँ । त्यसैले तपाईंहरूलाई नयाँ सोच, शैली र तरिकाबाट कार्य सम्पादन गर्दै सेवाग्राहीहरूलाई छिटो छरितो सेवाप्रवाह गर्न म आग्रह गर्दछु ।’
प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट प्रभावकारी ढङ्गले कार्यान्वयन गरेर किसानको अपेक्षाबमोजिम काम गर्न पनि मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिए ।
‘हामी यस प्रदेशका किसानहरूको समस्या अन्त्य गर्न चाहन्छौं,’ मुख्यमन्त्री राईले भने, ‘हाम्रो बजेट किसानहरूका समस्या सम्बोधन गर्न केन्द्रित छ ।
यो प्रदेशको समृद्धिको आधार कृषि क्षेत्र भएकाले कृषिलाई हामीले पहिलो प्राथमिकता दिएका छौं ।’ अब प्रत्येक किसानहरूसँग नीतिहरू निर्माण गर्दे कार्यक्रम तर्जुमा गर्दै बजेट बनाइने उनको भनाइ थियो ।
‘किसान दाजुभाइहरू यस प्रदेशमा कृषिलाई उच्च प्राथमिकतामा राखेका छौं । नीति तथा कार्यक्रम किसानका समस्या सम्बोधन गर्ने खालका छन् । कार्यान्वयनको चरणमा गइरहेका छौं, उनले भने, ‘किसानहरूसँग छलफल गर्ने नतिजा निकाल्ने विकास गर्ने आत्मनिर्भर बनाउने काम भइरहेको छ । कृषि, पशुपालन विभिन्न खालका व्यवसायहरूसँग छलफल गरी कृषिक्षेत्र समृद्धिको पहिलो आधार बनाउने सङ्कल्प छ ।’
कृषिको माध्यमबाट हजारौै रोजगारी सिर्जना गरी व्यावसायिकतालाई जोड दिँदै धेरै भन्दा धेरै उत्पादन गर्नुपर्ने उनले बताए । आयातलाई विस्थापित गरेर निर्यात पक्षलाई जोड दिनुपर्ने पनि उनले सो अवसरमा बताए ।