इटहरीः अधिकांश उद्योगका मजदुरमा कोरोना संक्रमण भएपछि सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगको उत्पादनमा ५० प्रतिशतले गिरावट आएको छ ।

बढ्दो संक्रमण दरका कारण कर्मचारी तथा मजदुर संक्रमित हुनुका साथै बजारमा उत्पादनको मागमा समेत कमी आएकाले उत्पादन घटाइएको उद्योगीहरुले बताएका छन् । चिसो बढेसँगै संक्रमणको ग्राफ पनि उकालो लाग्ने हुँदा आगामी दुई महिनापछि मात्र उत्पादन बढाउनेबारे सोच्न सकिने उद्योगीहरुको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउत सुनसरी–मोरङ औद्योगिक करिडोरका खाद्यान्नबाहेकका उद्योगको उत्पादन ५० प्रतिशतमा सीमित रहेको बताए ।

लकडाउन खुकुलो भएपनि आर्थिक संकटका कारण अत्यावश्यकबाहेक अन्य वस्तुको मागमा संकुचन आएकाले उत्पादन आधा कटौति गर्नुपरेको उनको भनाइ छ । लकडाउनका कारण भौतिक निर्माणका गतिविधि ठप्पप्राय भएपछि सिमेन्ट, रड, इँटालगायतका निर्माणसँग सम्बन्धित वस्तुको उत्पादनमा गिरावट आएको छ । कपडा, धागो, जुटजस्ता वस्तुको उत्पादनमा समेत गिरावट आई उद्योग सञ्चालनको अवधि घटेको छ । तीन सिफ्टसम्म सञ्चालन हुँदै आएका उद्योगको सञ्चालन दृई वा एक सिफ्टमा समेटिन पुगेको छ । मेची नाकाबाट भुटान, पश्चिम बंगाल लगायतका क्षेत्रमा फलामजन्य वस्तु निर्यात गरिरहेको बहुराष्ट्रिय कम्पनी आरति स्ट्रिप्सले समेत निर्यात रोकेको छ ।

कर्कट पाता र डन्डी उत्पादन गरी निर्यात गर्दै आएकोमा कर्मचारीमा कोरोना देखिएपछि उत्पादनमा ह्रास आएको आरति स्ट्रिप्सका भाइस प्रेसिडेन्ट विशाल गुप्ताले बताए । कोरोना संक्रमणको तिव्र वृद्धिका कारण लकडाउन खुलेपनि उद्योगको उत्पादनले गति लिन नसकेको बताए । उनका अनुसार जाडोमा संक्रमण दर उच्च हुने हुँदा समस्या जटिल बन्न सक्ने सम्भावना छ । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगहरुको अवस्थालाई सुधार गर्न सरकारले बैंकहरुले लिँदै आएको कर्जा नवीकरण शुल्क मिनाह गर्नुपर्ने, आयकर ब्यालेन्स सिटलाई पुुसबाट चैत मसान्तसम्म म्याद सार्नुपर्ने माग गरे ।

कोरोना महामारीका कारण उत्पादन कटौति भएपछि सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका पाँच सय उद्योगमा कार्यरत २० हजार मजदुर बेरोजगार भएका छन् ।