धरानः नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै धरानमा ‘यात्रु सहायता कक्ष’ (हेल्प डेस्क) को बिहीबार स्थापना गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरान नगर समिति र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा भानुचोकमा यात्रु सहयता कक्ष स्थापना गरेका हुन् ।

चाडबाडमा गाडीको सिटको व्यवस्था, यात्रुहरूको सामानको सुरक्षा, यात्रुहरूलाई सही गन्तव्यमा जाने गाडीको व्यवस्था गराउने उद्देश्यले यात्रु सहयता कक्षको स्थापना गरिएको बताइएको छ ।

यात्रु सहायता कक्षको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले संयुक्त रूपमा उद्घाटन गरे । उद्घाटनको क्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले सेवाप्रदायक संस्थाहरूलाई जोडेर गरिएको यो कार्यक्रम प्रशंसायोग्य रहेको बताए । यसले धेरै यात्रुहरूलाई सहज गराउने समेत उनले विश्वास व्यक्त गरे ।
यस्तै, सङ्गठनका केन्द्रीय अध्यक्ष राईले यातायात मजदुरहरूले यात्रुमैत्री व्यवहार गनुपर्ने बताए । पुरानो शैलीमा अब यातायात मजदुहरूले यात्रुहरूलाई व्यवहार गर्न नहुने भन्दै उनले सचेत गराए । ग्रामीण भेगका सडकहरू जोखिमयुक्त रहेकाले सडकको अवस्था अनुसार सवारी चलाउन उनले चालकहरूलाई निर्देशन समेत दिए । दुर्घटनाले कसैलाई पनि फाइदा नहुने भन्दै सधैँ जिम्मेवार बन्न उनले सुझाव दिए ।
यस्तै, सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुख एसएसपी शरदकुमार खत्रीले एक नम्बर प्रदेशले सडक सुशासन अभियान शुरु गरेकाले सबैले साथ दिएर सफल बनाउनुपर्ने बताए ।

नेपाल राष्ट्रिय यातायात महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले यातायात मजदुरहरू सधैँ जिम्मेवार बन्नुपर्ने बताए । यात्रुको जीवन यातायात मजदुरको भरमा हुने हुँदा सधँै आफूलाई जिम्मेवार सम्झनुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका डिएसपी अभिचन्द्र रिजाल, महिला सञ्जाल धरानकी वरिष्ठ उपाध्यक्ष चेतना श्रेङलगायतले बोलेका थिए । कार्यक्रम स्थलमा ट्राफिक सचेतनाका विभिन्न ब्यानरहरू राखिएको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका नगर अध्यक्ष कमल भट्टराईले तत्काल यात्रु सहायता कक्ष नभए पनि सवारीहरूलाई व्यवस्थापन गर्न शुरु गर्ने बताए ।

त्यसको लागि सङ्गठनका ५ जना सदस्यलाई खटाइएको समेत उनले टेलिफोन सम्पर्कमा बताए ।

‘म जिम्मेवार यातायात मजदुर !’
कार्यक्रममा यातायात व्यवसायीहरूले आफ्ना मजदुरहरूलाई जिम्मेवार बनाउनको लागि ८ बुँदे प्रतिबद्धतापत्र समेत बिहीबारै सार्वजनिक गरेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अधयक्ष राई, सङ्घीय प्रहरी इकाइ कार्यालयका एसएसपी शरदकुमार खत्रीलगायतले उक्त प्रतिबद्धतापत्रलाई सार्वजनिक गरेका थिए ।
‘म जिम्मेवार यातायात मजदुर’ मा ८ वटा बुँदामा ट्राफिक सचेतनाका कुराहरू समावेश गरेर यातायात मजदुरलाई जिम्मेवार बनाइएको छ । स्टिकरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदिनँ, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ, महिला, बालबालिका, अशक्त र वृद्धवृद्धालाई सम्मान गर्छु लेखिएको छ ।
त्यस्तै, बालश्रम प्रयोग गर्दिनँ, तीव्र गतिमा सवारी चलाउँदिनँ, तोकिएको भन्दा बढी भाडा लिन्नँ, सबैसँग सभ्य भाषा प्रयोग गर्छु र ट्राफिक नियमको पालना गर्छु भनी ८ बुँदा स्टिकरमा समावेश गरिएको छ । ८ वटा बुँदामा उल्लेख भएअनुसार यातायात मजदुरहरूले व्यवहार गर्न जरुरी रहेको अध्यक्ष राईले बताए । ती स्टिकर सवारी साधनहरूमा टाँसिएको थियो ।