इटहरीः शुक्रबार बिहान ९ बजे इटहरी उपमहानगरपालिका अगाडि सन्त्रासमय दृश्य देखिन्थ्यो । कोही चिच्याइरहेका थिए भने कोही रोइरहेका थिए । कोही चाहिँ टुलुटुलु अाँखैअगाडि भएको बलात्कार हेरिरहेका थिए ।
छेउमै थिइन् इटहरी सरकारकी उपप्रमुख लक्ष्मी गौतम । उनी पनि निरीह भएर एकोहोरो हेरिरहेकी थिइन् त्यो वीभत्स दृश्य ।
सरकारकी प्रतिनिधि मात्र होइन छेउमै एकोहोरो भएर करिब १० वर्षीय सडक बालक पनि एकोहोरो टोलाएर हेरिरहेका थिए । झण्डै एक मिनेटमा एक पटक मात्र आँखा झिम्क्याउँदै थिए ती बालक । मैले पनि हेरिरहेको छु भन्ने थाहा पाएर मतिर आए । छेउमा आएर र भन्न थाले, ‘दाइ, त्यो के गरेको ती दिदीलाई ?’
‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ ईश्वरको बास हुन्छ’ भन्ने नाराका साथ इटहरी नमुना कलेजको आयोजनामा बलात्कार तथा यौन हिंसाको विरुद्धमा प्रदर्शन भएको नाटकको दृश्य थियो त्यो । जुन नाटकले नेपाली समाजमा भइरहेका बलात्कारजस्ता कुकृत्यका घटना चित्रण गरेको थियो । नाटकमा बलात्कारको घटनालाई प्रस्तुत गरिरहँदा केही विद्यार्थी भने भावविह्वलसमेत भएका थिए ।
तस्बिर, शब्दः कृष्ण बहाब भट्टरार्इ