इलामः चियाको राजधानीको रूपमा परिचित सूर्योदय नगरपालिकामा कच्चा पदार्थको अभावमा चिया उद्योग बन्द हुन थालेका छन् । उद्योगको सङ्ख्या बढे पनि चिया रोप्ने क्रम नबढेपछि चिया उद्योग बन्द हुन थालेका हुन् ।

कच्चा पदार्थको खरिदमा अत्यधिक प्रतिष्पर्धा समेत भएकाले उद्योग बन्द गर्नुपरेको मेची भ्याली चिया उद्योगका सञ्चालक विमल प्रधानले बताए । उद्योगको दैनिक प्रशोधन क्षमता ६ हजार केजी भए पनि १ हजार २ सय केजी चिया मात्र सङ्कलन हुँदै आएकाले २०७५ साउनदेखि नै उद्योग बन्द गरेको सञ्चालक प्रधानको भनाइ छ ।

उद्योगको क्षमता अनुसारको चिया नआउनु र भारतीय बजारमा चिया बिक्री नहुँदा किसानलाई हरियो पत्तीको मूल्य ‘पेमेन्ट’ दिन नसकेका कारण पनि मेची भ्याली उद्योग बन्द भएको हो । मेची भ्याली मात्रै होइन सूर्योदय नगरपालिकामा स्थापना भएका इन्द्रावती चिया उद्योग, झुल्केघाम चिया उद्योग, इलामेली चिया उद्योग, चाहना हाते चिया उद्योग र आयुस चिया उद्योग बन्द रहेका छन् ।

विषादीका कारण तेस्रो मुलकमा चिया निर्यात नहुँदा भारतीय बजारमा भर पर्नुपर्ने र भारतीय बजारमा चिया खरिदबिक्री कम भएपछि खर्च धान्न नसकेर उद्योगीले उद्योग नै बन्द गर्न थालेको सूर्योदय नगर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष टीका अधिकारीले बताए । नियमित विद्युत आपूर्ति नहुनु, पाँच ठाउँमा कर तिर्नु, भारतीय बजारमा चिया बिक्री नहुनु र हरियो चिया पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ भए पनि गुणस्तरीय नहुने भएकाले उद्योग बन्द हुने क्रम बढेको उपाध्यक्ष अधिकारीको भनाइ छ ।

tea copy

प्रशोधन क्षमताको एक तिहाइ मात्रै हरियो चिया पत्ती उत्पादन

केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको व्यावसायिक चिया खेती सर्वेक्षणका अनुसार नेपालमा चिया प्रशोधन गर्ने कारखानाको क्षमता भन्दा एक तिहाई हरियो चिया पत्ती उत्पादन हुने गरेको छ ।

नेपालमा चिया प्रशोधनका लागि एक सय १३ वटा उद्योग सञ्चालनमा रहेका छन् । चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया उत्पादन क्षमता ५ करोड २१ लाख केजी रहेको छ । तर १ सय १३ उद्योगले वार्षिक १ करोड ८९ हजार ५८ हजार केजी हरियो चिया पत्ती प्रशोधन गर्दै आएको विभागका निर्देशक बद्री कार्कीले बताए । कार्कीका अनुसार नेपालमा रहेका चिया कारखानाको उपयोग ३६ दशमलव ४ प्रतिशत मात्रै रहेको हो ।

आर्थिक वर्ष २०७४÷७५ को वार्षिक कार्यक्रम अनुसार १ वर्ष लगाएर विभागले सङ्कलन गरेको तथ्याङ्कअनुसार पछिल्लो समय उद्योगको संस्था बढ्दै गए पनि चिया खेती बिस्तार कम हुँदै गएको छ । उद्योगहरू धेरै खोलिएका कारण उत्पादन भएको हरियो चिया पत्ती तिनै उद्योगहरूमा बाँडिने र चिया खेती विस्तार कम हुँदा उद्योगहरूको वार्षिक क्षमताभन्दा ६४ दशमलव ४ प्रतिशत कमीले तयारी चिया उत्पादन हुँदै आएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए ।

चिया रोपण क्षेत्र निरन्तर घट्दै

२०७० साल पछिदेखि चियाको रोपण अत्यधिक कम भएको र उद्योग खोल्ने क्रम बढेकाले उद्योगले समस्या भोग्दै आएको चिया उद्यमी एवम प्रदेश नं १ का सांसद काजीमान कागतेले बताए । चिया रोपणका लागि सरकारी क्षेत्र र बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाइने भएकाले पनि किसानले चिया खेती बिस्तार गरेका छैनन् ।

रोपेको ४ वर्षपछि मात्रै उत्पादन दिने भएकाले चिया किसानले ऋणको ब्याज तिर्न समस्या हुने गरेको चिया किसान सागर पराजुलीले बताए । सीमावर्ती भारतीय क्षेत्रमा रहेका चिया उद्योगमा कच्चापदार्थ कम भएका कारण नेपालबाट महङ्गो मूल्यमा चिया खरिद गरी निर्यात भएकाले पनि नेपाली चिया उद्योगमा कच्चापदार्थको अभाव भएको उद्योगीको भनाइ छ । सूर्योदय नगरपालिकाले चियाको समर्थन मूल्य तोक्दा नेपाली हरियो चिया भारतीय बजारमा निर्यात गर्न नपाउने नियम बनाए पनि हरियो चिया निर्यात भइरहेको चिया उद्योगी सुजन नेपाल बताउँछन् ।

Mechi valley Tea File Photo copy

नेपाली चिया उद्योगमा कच्चापदार्थको अभाव भइरहेका बेला भारतीय चिया उद्योगले नेपाली चिया खरिद गरेपछि सूर्योदय चिया एशोसिएसन इलामले हरियो चिया पत्ती निर्यात रोक्न सरकारी निकायलाई आग्रह गरे पनि खासै चासो नदिएको सूर्योदय चिया एसोसिएनसका सचिव गोपाल कट्टेलले बताए । उनका अनुसार दैनिक रूपमा सूर्योदय नगरपालिकामा मात्र ४० हजार केजी हरियो चिया पत्ती अभाव भइरहेको छ । नगर क्षेत्रभित्र सञ्चालनमा रहेका ५८ मध्ये ५ उद्योग कच्चा पदार्थ अभावका कारण बन्द रहेका छन् । दैनिक रूपमा भारततर्फ ११ हजार केजी हरियो पत्ती जाने गरेको बताउँदै उनले भने, ‘भारततर्फ जाने गरेको हरियो चिया पत्तीमा रोक लगाउने हो भने ३÷४ वटा उद्योग सञ्चालन हुन सक्छन् ।’

क्षमताभन्दा कम चिया आउने गरेको उद्योगीको भनाइ

पछिल्ला वर्षमा कारखानाको क्षमता अनुसार हरियो पत्ती आउन छोडेको इलाम टी प्रोडुसर्स प्रालिका प्रबन्धक ओम काफ्लेले बताए । साना र ठूला कारखानाहरू धेरै खुलेकाले दैनिक १० हजार केजी हरियो चिया पत्ती प्रशोधनको क्षमता रहेको कारखानमा हरियो पत्ती सङ्कलन धेरै हुँदा ६ हजार केजी मात्रै हुने गरेको छ ।

दैनिक २० हजार केजी हरियो चिया पत्ती प्रशोधनको क्षमता रहेको इलामको श्रीअन्तुस्थित समाल भ्याली चिया कारखानामा पनि मुस्किलले दैनिक ६ हजार केजी मात्रै सङ्कलन हुने गरेको छ । केही वर्ष अघिसम्म उद्योगको सङ्ख्या कम हुँदा क्षमताभन्दा बढी सङ्कलन हुने गरेको थियो । डेनिस सरकारको सहयोगमा सञ्चालित उन्नति समावेशी परियोजनाले चिया उद्योग स्थापनमा अनुदान दिन थालेपछि चिया उद्योगको सङ्ख्या ह्वात्तै बढेको हो । समाल भ्याली चिया प्रशोधन उद्योका प्रबन्धक रुस्तान तामाङ भन्छन्, ‘उद्योगको सङ्ख्या बढेअनुसार खेती विस्तार नहुँदा क्षमता अनुसारको चिया प्रशोधन गर्न पाइएको छैन ।’

नेपालमा १ करोड ६० लाख ३६ हजार सिटिसी, २६ लाख ७० हजार अर्थोडक्स, २ लाख २० हजार ग्रीन टी र ३२ हजार केजी स्पेसियल तयारी चिया बन्दै आएको छ । चिया प्रशोधन उद्योगका अनुसार ४ किलो हरियो चिया पत्तीबाट १ किलो तयारी चिया बन्ने गरेको छ ।